काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन अन्तिम चरणमा पुगेको पाइएको छ। एआईजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीले छानबिन सकाउन लागेको हो।
सो छानबिन टोलीमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई, उजुरी छानबिनका एसपी प्रकाश मल्ल, कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन्।
तत्कालीन समयमा रवि लामिछाने गृहमन्त्री बनेसङ्गै एकाएक केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख बनाइएका उनी र उनको सचिवालयमाथि त्यसबीच प्रहरी मुख्यालयमा दर्जनौं उजुरी परेका थिए।
यस्तै गत फागुनमा लामिछानेले सुन काण्डको थप प्रभावकारी अनुसन्धान गर्ने भन्दै ज्ञवालीलाई त्यहाँ लगेका थिए। ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने, एलओडी डिस्कोको नावालिका करणी, बालमन्दिरको जग्गा घोटाला,सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेकोसमेत उजुरी परेका थिए।
उजुरीपछि हालका गृहमन्त्री रमेश लेखक आएपछि राईको नेतृत्वमा गठित छानबिन कार्यदल काम थालेको थियो।
त्यस क्रममा ज्ञवालीविरुद्ध लागेका आरोप पुष्ट्याइँ हुने दसी प्रमाणहरु फेला परेको प्रहरी स्रोतले जनाएको छ।
कार्यदलको हदम्याद नभए पनि केही दिनमै प्रतिवेदन बुझाइने स्रोतको दाबी छ। ज्ञवाली उमेर हदका कारण भदौ २६ गतेदेखि अवकाश पाउँदैछन्। तर उनले सो हदम्याद हटाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता पनि गराएका छन्।
र, यो पनि: उमेरहदको अवकाश रोक्न भन्दै एआईजी ज्ञवालीको टोली सर्वोच्चमा
सिआइबीका विवादित हाकिम एआइजी ज्ञवालीविरुद्ध उजुरीका चाङ