धनगढी: नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) को समय नपुग्दै सरुवा गर्ने तयारी गरिएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख (हाकिम) सहितका डीआइजीहरुको सरुवा गर्ने तयारी थालिएको हो।
गृहमन्त्रालय एवं प्रहरी हेडक्वार्टरस्थित उच्च स्रोतका अनुसार सबै प्रदेशसहितका डीआइजीको सरुवा गरिन लागिएको हो। उसो त, पाँच वटा प्रदेशमा कार्यरत डीआईजीको कार्यकालको अवधि ९ महिनामात्र पुगेको छ। गण्डकी र कर्णाली प्रदेशका डीआईजीबाहेक अन्यको कार्यावधि ९ महिना मात्रै भएको हो।
तर, आइजीपी वसन्त कुँवरले समय पूरा नहुँदै प्रदेशका डीआईजीको सरुवा गर्न तयारी थालेका हुन्। प्रहरीको २०८० साउन १० मा कर्मचारी सरुवा सम्बन्धी नयाँ मापदण्ड लागु भएकोमा सो मापदण्ड अनुसार प्रहरी नायव महानिरीक्षकको सरुवा १ वर्षमा गर्ने उल्लेख छ।
यस्तै सरुवाको लागि आईजीपीको प्रस्तावमा गृहमन्त्रीले डीआईजीको सरुवा सम्बन्धी निर्णय गर्ने कानुनी व्यवस्था छ।
यसैक्रममा सुदूरपश्चिम प्रदेशको डीआईजी बन्न सुदूरपश्चिम घर भएका डीआइजीले दौडधुप बढाएको पनि बुझिएको छ। १३ वैशाखमा सुदूरपश्चिमको प्रहरी प्रमुखको रुपमा पदस्थापन गरिएका डीआइजी भरतबहादुर बोहराको सरुवा हुँदा उनको स्थानमा आउन दौडधुप बढेको हो। स्रोतका अनुसार विवादित डीआइजी अर्जुन चन्द ठकुरीले सुदूरपश्चिम आउन इन्छा देखाएका हुन्।
इच्छामात्र होइन, उनले सरुवाका लागि पावर लगाइरहेको पनि स्रोतको दाबी छ। बैतडी पुर्ख्यौली घर भएका उनी
नेपाली काँग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य आरजु राणा निकट मानिन्छ्न्। आरजुले नै चन्दलाई सुदूरपश्चिम पठाउन खोजिरहेको स्रोतको भनाई छ।
चन्द उनै डीआइजी हुन्, जो अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख छन्। उनले केही समय अगाडि नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलेको थियो।
उनले तिहार बिदा मनाउन बैंकक आउजाउ गर्ने भन्दै निगमसँग लिखित रुपमा चार वटा हवाई टिकट सित्तै मागेको खुलेको थियो। डीआइजीको उक्त लिखित आग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसम्म पुगेपछि खैलाबैला मच्चिएको थियो। तर त्यो बेला उनलाई टिकट भने दिइएको थिएन।
चन्दले जोरजुलम गरेपनि सुदूरपश्चिममा प्रहरी प्रमुखको रुपमा गृहले डीआइजी रबिन्द्र केसी र सुरेन्द्र मैनालीमध्ये एकजनालाई पठाउने तयारी गरेको बताइएको छ।
सम्बन्धित समाचार:
डिआइजीको सरुवामा चलखेल, सुदूरपश्चिमतिर कसको सम्भावना ?