काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुखले नेपाल वायुसेवा निगमलाई आफूसहित परिवारका लागि बैंकक घुम्न सित्तैमा टिकट मागेको खुलेको छ।
डिआइजी अर्जुन चन्द ठकुरीले तिहार बिदा मनाउन बैंकक आउजाउ गर्ने भन्दै निगमसँग लिखित रुपमा चार वटा हवाई टिकट सित्तै मागेको खुलेको हो। डिआइजीको उक्त लिखित आग्रह संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसम्म पुगेपछि खैलाबैला मच्चिएको छ।
पर्यटन मन्त्री किरातीले निःशुल्क टिकट नदिन आदेश दिएका छन्। तर, मन्त्रीले उक्त जानकारी प्रधानमन्त्री समक्ष राखिदिएका छन्। मन्त्रीले प्रधानमन्त्रीलाई भनेका थिए, ‘यस्ता लोभीलाई विमानस्थलजस्तो संवेदनशील ठाउँमा राखेर के गर्नु सम्माननीयज्यू ? ५० हजारको टिकटमा त गति छाड्नेले अनि सुन, पान पराग, खैनी, म्यानपावरमा छ्याकन हान्दैनन् ?’
विमानस्थल ड्युटीमा तैनाथ कर्मचारीलाई हुनसक्ने सुविधाअन्तर्गत न्यूनतम महसुल तिराएर ५० को सट्टा ३२ हजारको दरले सीट बुक गराइएको बुझिएको छ ।