काठमाडौं: सगरमाथाको सफल आरोहण गरी फर्किएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) दन्त बहादुर छत्याल सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्।
सशस्त्र प्रहरी बलले उनी फर्किए लगतै बढुवा गर्ने निर्णय गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए।
साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो।
छत्याल सगरमाथा आरोहणका लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका छत्याललाई शुधबार एक कार्यक्रमका बीच स्वागत गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार गण सिनामंगल काठमाडौँमा बुधबार छत्याललाई स्वागत गर्दै सफल आरोहणको लागि बधाइ दिए।
यस्तै सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको पनि विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा गर्ने निर्णय गरेको हो।
शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डासहित नेपाल प्रहरी तथा लैङ्गिक हिंसा विरुद्धको नारा सहितको ब्यानर फहराउन सफल भएकी छिन्।
प्रहरी महानिरीक्षक थापाले २०८१ चैत २५ गते निर्देशन तथा शुभकामनासहित झन्डा हस्तान्तरण गरेका थिए। प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पासहितको आरोहण दल २०८१ चैत २८ गते काठमाडौँबाट प्रस्थान गरेको थियो।
यसअघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए।
२०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका थिए।