धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) भित्र हेरफेर गरिएको छ। आरआइटी टिमका केही सदस्यलाई रमाना गरिएको छ भने एक जनाको जिम्मेवारी खोसिएको हो।
प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले आज (शुक्रवार) मात्रै यस्तो निर्णय गरिएको बताइएको छ।
आरआइटीको इन्चार्जसमेत रहेका वरिष्ठ सई डेनी स्वारलाई जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरीमै ड्रेसको ड्युटी लगाइएको छ भने सईद्वय अनिल विष्ट र दिपेन्द्र किमाडी एक हवल्दार शङ्कर कार्कीलाई दरबन्दी भएकै ठाँउ रमाना गरिएको छ।
किमाडीको प्रदेशको गण र विष्टको बाजुरा दरबन्दी रहेको बुझिएको छ। हालै सुदूरपश्चिम आएका डीआइजी केसीले नयाँ इन्चार्जसहितको टोली निर्माण गर्न हेरफेर गरिएको बताइन्छ।
प्रदेश प्रहरी स्रोतका अनुसार अब इन्सपेक्टरको नेतृत्वमा आरआइटीको नयाँ टोली गठन गर्ने तयारी थालिएको छ। आरआइटीले प्रदेशभर सादा पोशाकमा खटिएर अपराध अनुसन्धान लगायतका काम गर्दै आएको छ।
सो टिमलाई थप प्रभावकारी बनाउन फेरबदल गरिएको र टिमलाई थप सशक्त बनाइने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रहरी प्रवक्ता तथा एसएसपी प्रज्वल महर्जनको भनाई छ।