धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का उहिल्यै जमानाका सुरक्षा कमाण्डरको निधन भएको छ। शनिबार अचानक भारतमा रहेका तत्कालीन सशस्त्र द्वन्द्वकालताकाका सुरक्षा कमाण्डरसमेत रहेका माओवादी नेता तुला भुल (जटिल) को निधन भएको हो।
पूर्व जनमुक्ति सेना तथा तत्कालीन युद्धरत अवस्थाको माओवादी पार्टीको केन्द्रीय कार्यालय एवं अध्यक्ष प्रचण्डकै सुरक्षा कमाण्डर रहेका उनले पार्टीको राजनीति पनि गरेका थिए।
५३ वर्षको उमेरमा जटिलको अचानक मृत्युु भएको र आइतबारमात्र आफूहरुले खबर पाएको उनका भाई जगत भुल (जीवन) ले जानकारी दिए। उनका अनुसार जटिल ३ महिना अगाडि भारतको महाराष्ट्र गएकोमा पत्नीसहित आफन्तहरुसँग बस्दै आएका थिए। तर, अचानक कुनै स्वास्थ्य समस्या नरहेका जटिलको निधन भएको पारिवारिक स्रोतको दाबी छ। उनको स्थायी घर अछाम जिल्लास्थित पञ्देवल विनायक नगरपालिका-५ लयांटी हो।
उनको बारेमा देखिजान्ने र सुनिजान्नेहरुका अनुसार उनी तत्कालीन माओवादीमा २०५७ सालमा संगठित भएर लागेका थिए। त्यसबेला उनी किशोर नै थिए। पछि गएर २०६० सालमा त उनी भूमिगत नै भए।
त्यसपछि उनलाई पार्टीले एसीएम बनायो। त्यसपछि २०६१ मा उनले एरिया सेक्रेटरी इन्चार्जको रुपमा रहेर काम गरे। त्यसबेला उनले अछामकै आफ्नो घर भएको एरिया सम्हालेका थिए।
तत्पश्चात उनले २०६१ सालको अन्तिमतिर जन्मुक्ती सेना जोइन गरेको बताइन्छ। त्यसपछि उनले थुप्रैपटक लडाइँ लडेका थिए भने तत्कालीन गण्डक अभियानको त उनी कम्पनी कमान्डर नै रहेका थिए।
उनी कम्पनी कमान्डर भएर त्यसपछि २०६२ सालमा पार्टीको राज्य कमिटी सदस्य बने। त्यसबीचमा फेरि करिब २०६३ सालतिर उनले पार्टीको हेडक्वाटरको सुरक्षा हेर्नेगरी जिम्मेवारी पाएका थिए। यानिकी त्यतिबेला कसैले नदेखेका प्रचण्डसँगै बसेर उनले सुरक्षा प्रदान गर्थे।
त्यसपछि माओवादीले शान्ति वार्ता गर्ने र शान्ति प्रक्रियामा आउने भएपछि अध्यक्ष प्रचण्ड सार्वजनिक भएको दिन पनि उनी (प्रचण्ड) सँगै थिए।
त्यसपछि भने उनले स्वैच्छिक अवकाश लिएर पार्टी राजनीति थालेको बुझिएको छ। त्यसपछि उनी पार्टी जिल्लाको सचिवालय सदस्य तथा पालिकाको इन्चार्ज भए।
२०६८ को निर्वाचनमा भने उनले समानुपातिकबाट संविधान सभा सदस्य बन्न चाहेको थिए। तर त्यसमा उनी असफल रहे। त्यो बेला पार्टीले जानकी साउँद (रावल) लाई संविधान सभा सदस्यका लागि सिफारिस गरेको थियो। त्यसपछि पार्टी राजनीतिबाट बिच्किएका उनलाई पार्टीले जिम्मेवारीसमेत हटाएर कारबाही गरेको थियो। त्यसपछि भने उनी पार्टी र राजनीतिमा बिस्तारै निष्क्रिय हुँदै गएका थिए।
…अनि आयो स्वास्थ्यमा समस्या
पार्टी र राजनीति छोडेका उनलाई रोगले भने छोडेन, उनको २०७४ सालपछि स्वास्थ्यमा समस्या देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। त्यसबेला उनको मृगौलामा समस्या देखिएर औषधि उपचार गरिएको थियो। त्यसबेला पनि उनी उपचारकाआगि भारत नै गएका थिए।
उपचारले निको बनेका उनी पछि भने सहीसलामत बनेका थिए। तर उनलाई मदिराको लत लागेको निकटस्थहरुको दाबी छ। उनले अत्यधिक मदिरा सेवन गर्ने गरेकोले पुनः स्वास्थ्यमा समस्या आएको हुनसक्ने अनुमान पनि गरिएको छ।
तर यसपल्ट भने उनी उपचारका लागि नभएर छोराको निधनपछिको क्षतिपूर्ति लिन भारतसम्म पुगेका थिए। करिब १ वर्ष अगाडि उनको १८ वर्षको छोरा दुर्घटनामा महाराष्ट्रमै बितेको र त्यसपछि भारतीयबाट पाइने क्षतिपूर्ति लिनका लागि उनी महाराष्ट्रको उरन पुगेको बताइएको छ।
तर, उनी त्यो क्षतिपूर्ति लिएर फर्किन नपाउँदै स्वर्गारोहण भएका हुन्। तीन महिना अगाडि भारत लागेका उनी त्यहाँ आफन्तहरुसँगै बस्दै आएका थिए।
अहिले पनि उनकी श्रीमती भारतमै छिन् भने अछामस्थित घरमा उनका २ छोरा र एक छोरी छन्। पूर्व जनमुक्ति सेना, बटालियन कमाण्डर र पार्टीको सुरक्षासँगै वर्ग संघर्षको मोर्चा र लडाइँ लड्ने उनको निधनपछि परिवार भने अप्ठ्यारोमा परेको छ। उनीहरुले पार्टी र सरकारबाट सहयोगको अपेक्षा गरेका छन्।