बाजुरा : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी जनताको सेवा र शान्ति सुरक्षामा सदैव प्रतिवद्ध र इमान्दार हुनु पर्नेमा जोड दिएका छन्।
जिल्ला प्रहरी कार्यालयको भवन उद्घाटनका लागि बाजुरा पुगेका आईजीपी कुँवरले शान्ति सुव्यवस्था विना देशको विकास र समृद्धिको आधार नै निर्माण गर्न नसकिने धारणा राखेका छन्।
बाजुरामा निर्माण गरिएको प्रहरीको प्रशासनीक भवन, ब्यारेक, हिरासत, निवास तथा मेश घरहरुको सयुक्त उद्घाटन गर्न आईजीपी कुँवर बाजुरा आइपुगेका हुन्। प्रहरी कार्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममा कुँवरले भवन उद्घाटनसँगै प्रहरीले दिने सेवा प्रवाहमा समेत सुधार हुने बताएका छन्।
सुरक्षित र सुविधासम्पन्न भवन निर्माणले प्रहरीको मनोवल बढ्नुका साथै उर्जा र हौसला थपिएको विश्वास व्यक्त गरेका महानिरीक्षक कुँवरले भवन उद्घाटनसँगै जिम्मेवारी र दायित्व बढेको महशुस प्रहरीले गर्नु पर्नेमा जोड दिए।
‘मेरो निर्देशन छ, जनताको सेवा, देशको रक्षा, अपराधीलाई, कानुनको कार्यान्वयन र देश समृद्धिको यात्रामा प्रहरी इमान्दार पूर्वक सहयोगी बन्नु पर्छ,’ आईजीपी कुँवरले भने।
नयाँ भवनले चुनौति र जिम्मेवारी अझै बढेको छ। बढी मेहनत र जिम्मेवार हुन जरुरी देखिन्छ।
प्रहरीका लागि भवन मात्रै राम्रो सुविधा सम्पन्न भएर हुदैन्, बस्ने संरचना जस्तै शान्ति सुरक्षा र जनसेवामा पनि प्रहरी अब्बल हुनु पर्ने सुझाव कुँवरको थियो। बाजुरा आउने र यहाँको अवस्था बारे जानकारी लिने, जनतासँग जोडिने कुरालाई बिशिष्ठ क्षणको रुपमा लिएको कुँवरको भनाइ थियो।
प्रत्येक नागरिकलाई शान्ति सुरक्षाको महशुस गराउनु प्रहरीको दायित्व हो, प्रहरीको अधिकारका लागि प्रहरी प्रधान कार्यालय नक्साल प्रतिवद्ध र जिम्मेवार हुनेमा विश्वस्त हुनपनि कुँवरले आग्रह गरेका छन्।
निष्ठा, इमान र जिम्मेवारी नर्बिसेर काम गर्न र दुरदराजका नागरिकलाई सेवा दिन कुनै कुसर बाँकी राख्न नहुने र व्यक्तिगत लाभ भन्दा माथि कर्तव्य निष्ठा र इमानलाई राख्न निर्देशन दिएका छन्।