धनगढी : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सङ्घ र प्रदेशबिच समन्वय नहुँदा प्रहरीलाई समस्या भइरहेको बताएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालयले आज संयुक्त रूपमा धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मन्त्रीले प्रहरी समायोजन हुन जरुरी रहेको बताएका हुन् ।
प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाए पनि प्रहरी समायोजन नभएको भन्दै समायोजनका लागि सङ्घमा पहल गर्न सबैलाई आग्रह गरे ।
यसैगरी, मन्त्री भट्टले अपराध नयाँ तरिकाले बढिरहेका कारण सोही बमोजिम कानुन बनाएर अपराध नियन्त्रण गर्न आवश्यक रहेको औँल्याए । उनले भने “आज सङ्गठित अपराध सबैभन्दा ठुलो समस्याको रूपमा देखिएको छ । लागुऔषध अपराध पनि अत्यधिक बढेको छ । यस्ता अपराधलाई कसरी नियन्त्रण गर्ने त्यसतर्फ नेपाल प्रहरीले ध्यान देओस् ।”
प्रहरी र नागरिकबिच एक अर्कासँग परस्पर सम्बन्ध हुनुपर्ने मन्त्रीको भनाइ थियो । प्रहरी र जनताबिचको सम्बन्धले अपराध अनुसन्धानमा सहयोग पुग्ने उनको विश्वास छ ।