धनगढी : कैलालीको धनगढीमा लागुऔषध दुर्व्यसनीलाई राख्न आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ।
कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा बुधबारदेखि आएको हो। केन्द्रको प्रहरी महानिरीक्षक वसन्त कुँवरले उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्याउने बताए। लागूऔषध दुर्व्यवसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर गर्ने उल्लेख गर्दै लागूऔषधको प्रयोगमा संलग्न व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तहतप्का र वर्गको साथ र सहयोग आवश्यक रहेको उनले बताए।
प्रहरी महानिरीक्षक कुँवरले लागूपदार्थ प्रति वितृष्णा उत्पन्न गराउन लागूऔषध प्रयोगकर्ताको मनोबल र आत्मबल अभिवृद्धि गर्न जरूरी रहेको चर्चा गर्दै लागूऔषधको नकारात्मक असरबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई दुर्व्यसनबाट मुक्त गराउने नेपाल प्रहरीको अभियानलाई सफल बनाउन आम नागरिकको निरन्तर सहयोग मिल्ने अपेक्षा व्यक्त गरेका छन्। समसामयिक आवश्यकता, नयाँ सोच र दृष्टिकोणसहित अझ परिस्कृत, कल्याणकारी सेवामार्फत सुरक्षित र शान्त समाज निर्माणमा नेपाल प्रहरी सदैव अग्रसर रहने उहाँले प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै लागूऔषध नियन्त्रणका लागि आवश्यक साथ र सहयोगका लागि उपमहानगरपालिका सदैव तत्पर रहेको बताए।