धनगढी : ललितपुरको बालकुमारीमा पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले प्रदर्शन गरे।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडी समेत जलाइदिए। सोही क्रममा प्र्रदर्शनकारी र प्रहरीबीच झडप भयो।
प्रहरीले अनावश्यक बल प्रयोग गर्यो। प्रदर्शनमा प्रहरीको दनमबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख घर भएका सुजत रावत र अछामका विरेन्द्र शाह छन्।
बालकुमारीमा भएको घटनापछि गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई फिर्ता बोलाएको छ।
सीडीओ रुद्रप्रसाद पण्डितलाई मन्त्रालय तानेको छ भने ललितपुरका प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय तानेको हो।
एसएपी शाह उहिले देखिनै विवादित छवि भएका प्रहरी अधिकृत हुन्। उनको कार्यशैली र नियतमाथि पटकपटक प्रश्न उठ्दै आएको छ। उनी जहाँ जान्छन्, ‘डनपारा’ देखाइहाल्छन्।
शाहले देखाउने दादागिरीले उनको छविमाथि मात्रै होइन्, नेपाल प्रहरीको छविमाथि नै आँच आइरहेको छ।
तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट शाहलाई नेपाल प्रहरीमा समायोजन गरेका थिए। शाह रौतहट प्रहरी प्रमुख हुँदा पनि विवादित बनेका थिए।
रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई एसएसपी शाहले लागूऔषध राखेर फसाउन खोजेका थिए। उनले प्रहरीलाई नै लागूऔषध राख्न लगाएर पत्रकार मोहम्मदलाई पक्राउ गरि फसाउन खोजेका थिए।
तर, सिसिटिभि फुटेजबाट उक्त कुरा खुलेको थियो। निर्दोष पत्रकारलाई लागूऔषध राखेर फसाउन खोजेको प्रकरणमा उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर तानेको थियो।
घटनाको छानबिन गर्न एसएसपी कृष्ण महतको संयोजकत्वमा चार सदस्यीय समिती गठन गरेर शाहलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट मुक्त गरिएको थियो। प्रहरी हेडक्वाटरले उनीमाथि कारवाही गर्न अनुसन्धान गर्न टोली बनाएपनि उनीमाथि कारबाही भएन।
बालकुमारी घटनाका सन्दर्भमा छानविन समितिले काम गरिरहेको भन्दै मन्त्रालयले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै बमोजिम कार्यान्वयन गरिने जनाएको छ।