धनगढी : १३ पुसमा ललितपुरको बालकुमारीमा दुई होनहार युवाले ज्यान गुमाए। प्रहरीको धरपकडमा परी ज्यान गुमाउने युवा थिए, दैलेख सुजत रावत र अछामका विरेन्द्र शाह।
रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट थिए, रावत र शाह जस्तै सयौं युवा।
सोही कारण उनीहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकै क्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी समेत गरिएको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।
झडपकै क्रममा प्रहरीले गोली चलायो। गाली लागेर अछामका युवा शाहको मृत्यु भयो भने दैलेखकका रावतलाई प्रहरीले निर्घात कुटपिट गरी मारिदियो।
दुईजना युवाको ज्यान जानेगरी शुक्रबार ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा प्रहरीतर्फको कमाण्ड डीएसपी उमेश लम्सालले गरेका थिए।
उनकै कमाण्डमा एक सय २५ जना प्रहरी थिए। डीएसपी लम्सालको कमाण्डमा भएको धरपकडमा दुई युवाले ज्यान गुमाएपछि उनी निलम्बनमा परेका छन्।
लम्साल तीनै व्यक्ति हुन्, जो बेलाबेला विवादमा आइरहन्छन्।
डीएसपी लम्साल यसअघि वृत्त महाराजगञ्जमा रहँदा कोभिडको समयमा काम गरेर घर फर्कने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति अस्पतालका डाक्टरमाथि कुटपिट गरेका कारण कारबाहीमा परेका थिए।
अस्पतालबाट ड्युटी सकी हातमा एप्रोन बोकेर गइरहेका चिकित्सकलाई हौसला दिनुपर्नेमा उल्टै निर्घात कुटपिट गरेर बहादुरी देखाउँदा उनी कारवाहीस्वरूप महानगरिय प्रहरी कार्यालय रानीपोखरीमा तानिएका थिए।
डीएसपी लम्साल जुवाडे पक्राउको काण्डमा पनि आर्थिक विवादमा परेका थिए। लम्साल निकै विवादित डीएसपी हुन्। डीएसपी लम्साल एमाले निकट मानिन्छन्।
एमालेका नेताहरुको आडमा लम्सालले धेरै ठाउँहरुमा उत्पात मच्चाउँदै आएका बेला बालकुमारीमा काण्ड गरेका छन्।