काठमाडौं : संसद नचलेको अवस्थामा सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधनको तयारी गरेको छ।
प्रदेशहरुको मागलाई सम्बोधन गर्दै सरकारले प्रहरी समायोजन सम्बन्धी व्यवस्थालाई पनि अध्यादेश मार्फत नै परिमार्जनको तयारी गरेको हो।
प्रस्तावित ‘नेपाल प्रहरी ऐन अध्यादेश–२०८०’ जारी भएपछि खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना हुन चाहने व्यक्तिले २७ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन्।
प्रहरी ऐन र नियमावलीमा रहेको साविकको व्यवस्थाअनुसार जनपद प्रहरी बन्न चाहने व्यक्तिले तीन तहमा खुला प्रतिस्पर्धा गर्न पाउँछन्।
प्रहरी जवानमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट भर्ना लिइन्छ भने प्रहरी सहायक निरीक्षक (असई) मा ४० प्रतिशत खुलाबाट र ६० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट भर्ना लिइन्छ।
त्यस्तै, इन्स्पेक्टरमा ६० प्रतिशत खुलाबाट र ४० प्रतिशत आन्तरिकबाट भर्ना लिने गरिएको छ। प्रहरी इन्स्पेक्टरलाई प्रहरी सेवामा जान चाहने युवाहरुको आकर्षक रोजाइको जागिर मान्ने गरिएको छ।
यो पदका लागि अहिलेसम्मको उमेर हद २० वर्ष पूरा भई २५ वर्ष नकटेको हुनुपर्ने रहेको छ। तर, अब हुने संशोधनले इन्सपेक्टर भर्नाको उमेर हद २७ वर्ष बनाउन लागिएको गृहमन्त्रालय स्रोतले बतायो।
‘इन्स्पेक्टरको शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्ने भन्ने छ, अहिले स्नातक तहलाई चारवर्षे बनाइएकाले इन्स्पेक्टरको उमेर हद पनि बढाउनुपर्ने अवस्था आएको हो। अब नयाँ व्यवस्था अनुसार २७ वर्षको उमेर नकट्दासम्म इन्स्पेक्टरमा लड्न पाइन्छ,’ स्रोतले भन्यो।