डडेल्धुरा : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले डडेल्धुरा अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने बताएका छन् ।
आइतबार डडेल्धुरा अस्पतालको अनुगमन गरेपछि उनले हाल एक सय शय्यामा संचालित अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने तयारी भएको बताउदै २ करोड बजेटसमेत विनियोजन गरिएको बताए ।
हाल अस्पताललाई स्तरोन्नति गर्न आवश्यक ओएनएमको फाइल अर्थ मन्त्रालयमा रहेको बताउदै उनले त्यो स्वीकृत गरेर अस्पताललाई पाँच सय शय्यामा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढेको समेत जानकारी दिए ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सचीव रोशन पोखरेलले आगामी ३ वर्षपछि डडेल्धुरा मेडिकल कलेजमा एमबीबीएसको अध्यापन सुरुवात हुनेसमेत जानकारी दिए ।
त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयल उपकुलपति अम्मराज जोशीले डडेल्धुरा मेडिकल कलेजमा यसै माघदेखि ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी अध्यापन सुरु हुने बताए ।
अनुगमनकै क्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले डडेल्धुरा अस्पताल प्रदेशको सातै जिल्लालाई पाइक पर्ने भएकाले अस्पताल स्तरोन्नति भएपछि सबैलाई सहज हुने बताइन् । उनले अस्पतालको विकास र गुणस्तर सुधार्न आफूले कुनै कसर बाँकी नराख्ने बताइन् ।
डडेल्धुरा अस्पताल सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्रै अस्पताल हो । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेको छ ।