काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले ललितपुरको बालकुमारीमा भएको झडपमा ८ जना प्रहरी घाइते भएको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उनले बल प्रयोगमा ८ जना प्रहरी घाइते भएको बताएका हुन्।
उनले मन्त्रीको सुरक्षा जोखिममा पर्ने ठानेर बालकुमारीमा बल प्रयोग गरिएको जिकिर गरे। मन्त्रीको गाडी त्यहाँ नपुगेको भए घटना नहुने उनको दाबी छ।
उपत्यकामै मन्त्रीमाथि यस्तो भयो भनेर सन्देश राम्रो जाँदैन भनेर खटिएको बताउँदै उनले मन्त्रीको ज्यान तलमाथि पर्छ भनेर प्रहरी बल प्रयोग भएको उल्लेख गरे।
आइजीपि कुँवरका अनुसार १३ गते प्रदर्शनकारी बिनालिडर उत्रिएका थिए। साढे ११ मा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो।
११.५२ मा मन्त्री कान्तिपुर पार्टी प्यालेसबाट निस्केपछि तितरबितर भएको भीडले मन्त्रीको गाडी जलाएको थियो।
प्रहरीको धरपकडमा परी दैलेख सुजत रावत र अछामका विरेन्द्र शाहले ज्यान गुमाएका थिए।