काठमाडौं : भीड नियन्त्रण गर्ने क्रममा प्रहरीको बल प्रयोगबाट जनधनको क्षति हुने क्रम बढेपछि नेपाल प्रहरीले हातहतियार प्रयोग गर्दा सचेत रहन निर्देशन दिएको छ ।
पुस १३ गते प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलगायत मातहतका झण्डै एक दर्जन निकायलाई पत्राचार गर्दै भीड नियन्त्रणका क्रममा चनाखो हुन निर्देशन दिएको हो ।
प्रहरीको गोली लागेर ललितपुरको बालकुमारीमा दुई जना आन्दोलनकारीको मृत्यु भएकै दिन पुस १३ गते दिइएको निर्देशनमा तालिमप्राप्त प्रहरी कर्मचारीको मानसिक अवस्था हेरेर मात्रै हतियार बोक्न दिने, भीड नियन्त्रण गर्दा न्यूनतम बलको प्रयोग गर्ने र जनधनको क्षति हुन नदिने उल्लेख छ । त्यस्तै, भीड नियन्त्रणमा खटिनुपूर्व नै प्रहरीलाई हतियार चलाउनुपर्ने अवस्थाबारे स्पष्ट रुपमा जानकारी गराउन भनिएको छ ।
जनधनको क्षति हुनबाट बचाउन सुरक्षित दिशातर्फ हवाई फायर गर्नुपर्नेमा भीडतर्फ नै लक्षित गरी प्रहरीले हवाई फायर गर्दा आन्दोलनकारीको ज्यानसमेत जाने गरेको उल्लेख गर्दै कार्यालयले अब उप्रान्त त्यस्ता घटना नघट्नेगरी कारबाही गर्न–गराउन निर्देश गरेको छ ।
त्यस्तै, गत मंसिर २७ गते बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा नयाँ प्रशासकीय अधिकृत महेशकुमार मिश्रा हाजिर हुन आउँदा स्थानीयले हुलदंगा गरेका थिए । भीडलाई तितरबितर गर्नका लागि प्रहरीले हवाईफायर गर्दा रामसागराघाटका २५ वर्षीय लक्ष्मी मुखियाको ज्यान गएको थियो ।
त्यस्तै गएको पुस ५ गते धनुषाको हंसपुर नगरपालिका–५, सुगा निकासमा भएको झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गर्दा ३६ वर्षीय शिवशंकर मण्डलको दाहिने हातको नाडी र १८ वर्षीय मसलुम अन्सारीको बायाँ हातको पाखुरामा गोली लागेको थियो ।