बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्तरगत इलाइट च्याम्पियनसिपमा कैलालीले दोस्रो जित निकालेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा कैलालीले बझाङलाई १०६ रनले हरायो ।
जितका लागि पाएको २१२ रनको लक्ष्य पछ्याएको बझाङ २६.५ ओभरमा १०६ रनमा समेटियो । जसमा किरन कार्कीले सर्वाधिक ३९ रन बनाएपनि हार भने टार्न सकेनन् । कैलालीका प्रकाश सुनारले ३,धर्म जोशी र डमेर सुनारले २र२ विकेट हात पारे।
यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३५ ओभरमा झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले ३५ ओभरमा ६ विकेटको क्षतिमा २११ रन बनायो। उसका ओपनर टेक रावतले अर्धशतकीय पारी खेल्दै ९१ रन हिर्काए। बझाङका अशोक धामीले २ विकेट लिए।
कैलालीका टेक रावत म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्रराज भट्टले जानकारी दिए । योसंगै कैलाली ३ खेलमध्ये दुईमा जित निकाल्दै ४ अंक जोड्दै फाइनलको सम्भावना जीवितै राखेको छ।
लगातार तेस्रो हार व्यहोरेको बझाङ भने प्रतियोगिताबाट बाहिरिएको छ। कैलालीले अब अन्तिम खेल आइतबार बैतडी र बझाङले शुक्रबार अन्तिम खेलमा अछामसंग भिड्नेछ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।