काठमाडौं : नेकपा एमालेका नेता डा भीम रावलले भारतीय दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको विरोध गरेका छन्। नेता रावलले सामाजिक सञ्जालमा लेख्दै दूतावासले आफूखुसी २० करोडका योजना सञ्चालन गर्न पाउने सम्झौताको भर्त्सना गरेका हुन्।
उनले नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सशक्त रूपमा निन्दा र विरोध गर्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘विदेश भक्तिको कांग्रेसी परम्परा र भारतको स्वार्थ अनुसार काम गर्न कथित जनयुद्धको बेला भारतीय शासकहरूका सामु पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको कागजको गठजोडबाट नेपालमा भारतले आफुखुशी २० करोडका आयोजना संचालन गर्नपाउने कुकृत्य भारतीय विदेशमन्त्री एस् जयशंकरको नेपाल भ्रमणको बेला गरिएको सम्झौतामा उदांग भएको छ । नेपाललाई भारतको उपनिवेश बनाउने कृत्यको सबै देशभक्त नेपालीले सशक्त रूपमा निन्दा र विरोध गरौं ! यो सम्झौता र प्रचण्ड स्वयंले बेलाबखत गरेका र भनेका काम कुराबाट कथित जनयुद्ध नेपाललाई कमजोर बनाई भारतीय स्वार्थ अनुसार हिड्न बाध्य पार्नु रहेछ भन्नेमा अब कुनै द्विविधा मान्नु पर्ने भएन। यो षडयन्त्र देशको स्वाधीनता र समृध्दि होला भनेर बन्दुक बोकी ज्यानको बाजि लगाउनेहरूलाई थाहै भएन ! ‘