काठमाडौं: नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेदवारी दर्ता गराउने भएको छ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारका बारेमा छलफल गर्दै पुष २३ गते १९ वटै सिटमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामबारे प्रारम्भीक छलफल भएको जानकारी दिए।
उनले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताए। त्यस्तै, बैठकले भारतसँग भएका केही सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ।
राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसँग भएका सम्झौतका बारेमा जानकारी गराउन सरकारसँग माग गरिएको महासचिव पोखरेलले बताए ।
त्यस्तै, सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिए।