काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।
राष्ट्रियसभाको निर्वाचनमा सिट बाँडफाँटको विषय टुङ्ग्याउन बसेको बैठकमा दलहरुबीच कुरा नमिलेको हो।
आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायत गठबन्धनमा आबद्ध दलका नेताहरुको सहभागिता थियो।
बैठकमा मुख्य चार दलबीच सिट विभाजनमा कुरा नमिलेको बुझिएको छ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले कांग्रेस, माओवादी र जसपाबीच सिट विभाजनमा कुरा नमिलेको बताए।
उनका अनुसार राष्ट्रिय जनमोर्चाले पनि १ सिटमा दाबी गरेको छ। स्रोतका अनुसार कांग्रेसले ११ सिटमा आफ्नो दाबी कायमै राखेको छ। दुई सिट पाउने लगभग पक्का भएपनि जसपाले तीन सिटमा दाबी गरेको छ।
नागरिक उन्मुक्ति, जनमत र जनमोर्चालाई १-१ सिट दिन गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेस तयार देखिएको छैन।
बालुबाटार स्रोतले दिएको जानकारी अनुसार अहिले पनि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरुबीच अनौपचारिक छ्लफल भइरहेको छ।