डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न लागिपरेको बताएका छन् ।
नेपाल प्रेस युनियनले डोटीको दीपायलमा हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले भने– “सुशासन र भ्रष्टाचारका विषयमा कसैसँग सम्झौता हुँदैन”, मुख्यमन्त्री शाहले भने, “चाहे तल्लो तहको हुन् वा माथिल्लो तहका हुन् । सबैलाई समान व्यवहार गरिनेछ ।”
मुख्यमन्त्री शाहले प्रदेश संरचना कुनै व्यक्तिले चाहेर नबनेको बताए । प्रदेश संरचना खर्चिलो भयो भन्ने प्रश्नमा मुख्यमन्त्री शाहले भने, “हिजो पनि कुनै न कुनै रूपमा यस्ता किसिमका सरकार निर्माण गर्ने, अधिकार दिने, कार्यान्वयन गर्ने कुरा भएका थिए, त्यतापट्टि फर्किएर हेर्नुभयो भने यो कुरा सामान्य देख्नुहुन्छ” उनले भने ।
प्रदेश संरचना जनताका लागि र जनताले चाहेर निर्माण भएको शाहको भनाई थियो ।