डडेल्धुरा : टिकटकबाट उदाएकी डडेल्धुराकी पवित्रा साँकी ‘मिस पवी’ले आफूले पनि छाउपढी कुप्रथा भोग्नु परेको बताएकी छिन् । मोडेलसमेत रहेकी उनले एक अन्तर्वार्तामा कुराकानी गर्दै आफू पहिलोपटक महिनावरी हुँदा भैंसीको गोठमा बसेको सुनाइन् ।
डडेल्धुराको अमरगढी नगरपालिका–८ लटौलीकी साँकीले घरमा शौचालयसमेत प्रयोग गर्न नपाएको उल्लेख गर्दै खोलामा शौच गर्न गएको सम्झिइन् । अहिलेचाँही घरका सदस्यलाई सम्झाएर केही सुधार भएको उनले बताएकी छिन् । अहिले आफू महिनावारी भएका बेला कोठामै सुत्ने गरेको उनको भनाई छ ।
तर, अहिले पनि उनका छिमेकीका छोरीहरु महिनावारी हुँदा गोठमा बसिरहेको बताइन् । ‘त्यहाँका मान्छेलाई बुझाउन धेरै गाह्रो छ । कसरी बुझाउनु पढेलेखेको मान्छेले त बुझ्दैन झन् नपढेको मान्छेलाई कसरी बुझाउनु’ उनले भनिन् ।
सन् २०१८ को अगस्टमा नेपालले छाउपढीलाई गैरकानुनी घोषणा गरेपनि नेपालमा अझैपनि पुर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपढीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ ।
यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्