धनगढी : सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट प्रहरीले साढे तीन लाख बढिका अवैध सामान बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर र वडा नम्बर ३ भन्सार कार्यालय क्षेत्रबाट तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालयबाट भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो ।
त्रिनगरबाट ६४ हजार सात सय मूल्यका गाडीका विभिन्न पाटपुर्जासहित एक जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–६ का ३९ वर्षीय शेरबहादुर खयाडत पक्राउ परेका हुन् ।
शनिवार दिउँसो प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । भन्सार छलीका सामानसहित शेरबहादुरलाई कैलाली भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
यतै, कैलाली भन्सार कार्यालय क्षेत्रबाट ४८ हजार ६० रुपैयाँका चिनी, मिठाई, नरिवल, सरप, मसला, पानीपुरी, बिस्कुट लगाएतका सामान बरामद गरिएको हो । प्रहरीले भन्सार कार्यालय अगाडिबाट बेवारिसे सामान फेला पारेको बताएको छ ।
उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत् कार्यालय क्षेत्रबाट दुई लाख एक हजार २० रुपैयाँका सुट, ज्याकेट, खाद्यान्न, हार्डवेयरका सामान बरामद गरिएको छ । शनिवार साँझ प्रहरी गस्ती टोलीले सामान बरामद गरेको हो ।