डोटी : डोटीमा सुन्तलाको उत्पादन बर्सेनि बढ्दो अवस्थामा रहेको छ । नौ वटा स्थानीय तह रहेको डोटीमा तिन वटा स्थानीय तह सुन्तला उत्पादनको दृष्टिकोणले प्रख्यात मान्ने गरिन्छ ।
गत वर्ष भन्दा यस वर्ष उत्पादनमा वृद्धि भएको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । डोटीमा आर्थिक वर्ष २०७८।०७९ मा सुन्तला उत्पादन २ हजार ९ सय ३२ मेट्रिक टन रहेको थियो भने आर्थिक वर्ष २०७९।८० मा आउँदा उत्पादन बढेर ३ हजार २ सय ४० मेट्रिक टन रहेको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए ।
गत वर्षको तुलनामा यस वर्ष ३ सय ८ मेट्रिक टन बढी रहेको पाइन्छ । किसानहरूले पछिल्लो समयमा सुन्तलाका बोटबिरुवाहरू काट छाड गर्ने, पेन्ट लगाउने, समय समयमा गोडमेल गर्ने, भिटामिन हाल्ने, सिचाई गर्ने कारणले उत्पादन बढेको प्रमुख अवस्थिले बताए ।
सुन्तलाको उत्पादन वृद्धि गर्न वार्षिक क्यालेन्डर अनुसार काम गर्नुपर्ने, व्यवस्थापनमा ध्यान दिनुपर्ने, सुन्तलामा देखिने ह्रास रोगको उपचारमा समयमै ध्यान दिन आवश्यक रहेको समेत प्रमुख अवस्थिले बताए । डोटीमा सुन्तला उत्पादनमा बढावा दिन ज्ञान केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामाग्रीहरू सहयोग गर्दै आइरहेको छ भने आगामी दिनमा कृर्षि उपजलाई ब्रान्डीङ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समेत ज्ञान केन्द्र प्रमुख अवस्थिले बताए ।
सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिन्छन् तर जिल्लाका अन्य स्थानीयतहहरुमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा एक जनाले १०, १५ हजार देखी दश लाख सम्मको सुन्तला बिक्री वितरण गर्दै आइरहेको पाइन्छ ।
पछिल्लो समयमा कृर्षि उपज सङ्कलनको लागि व्यापारीहरू किसानहरूको घरदैलोमा आउने गरेकोले किसानहरूले उत्पादन गरेका सुन्तला लगायतका कृर्षि उपजको लागि बजारीकरणको समस्या नरहेको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ ।
सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रति केजी १ सय रुपियाँमा बिक्री वितरण हुने गरेको पाइए पनि किसानहरूले तुलनात्मक रूपमा प्रति केजी ४५ देखी ५० रुपियाँका दरले बारीमा बिक्री वितरण गर्ने गरेको पाइन्छ । डोटीको लागि सुन्तलाको मुख्य बजार धनगढी, नेपालगन्ज, बुटवल, काठमाडौँ रहेको छ ।