धनगढी: भारतबाट सुदूरपश्चिममा ड्रग्स (लागुऔषध) सप्लाई गर्ने डिलरका मालिक र तस्करलाई प्रहरीले पछिल्लो समयमा धमाधम पक्राउ गर्दे आएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड डीआईजी भरतबहादुर बोहराले सम्हालेपछि ड्रग्स तस्कर र डिलरलाई नियन्त्रण गर्नमा थप तीव्रता दिइएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीले उपलब्ध गराएको विवरणअनुसार २०७७ फागुन १७ गतेदेखी हालसम्म १८ जना ड्रग्स सप्लाई गर्ने डिलर र तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डीआइजी भरतबहादुर बोहराले दिएको जानकारी अनुसार १६ जना भारतीय नागरिक नेपाली जेलमा छन्। जसमा उत्तर प्रदेशका नितिन गुप्ता, धर्मेन्द्र कुमार, शुभम भासीन र महेन्द्र सिंह रहेका छन्।
पिलिभित भारतका सुच्चा सिंह, मनतोष हिरा, सोना सिंह, सुखदेव सिंह, बलजित सिंह र अजविन्द्र सिंह रहेको डीआइजी बोहराले जानकारी दिए।
यस्तै, चमपावत भारतका अमन चन्द, लखिमपुरका सानु अन्सारी, जोगा सिंह, अनिल भन्ने निल सिंह, ग्राम गुलरिया सहिजानपुरका सुभाषचन्द र उत्तराखण्डका धर्मेन्द्र दुबे रहेका छन्।
लखिनीपुर खिरीका ५० वर्षीय महंगा सिंह भने लागूऔषध सम्बन्धी मुद्दा दर्ता भइ हिरासतमा रहेको डीआइजी बोहरा बताउँछन्। सिंह पुस १६ गते २४८ ग्राम ६४० मिलिग्राम अफिनसहित पक्राउ परेका थिए।
भारत पिलिभित किल्ला नम्बर ४ उत्तराखण्डका ३४ वर्षीय सोनु भन्ने सुरेन्द्र सिंह लागूऔषध मुद्दामा प्रतिवादी कायम भइ फरार रहेका छन्।