धनगढी : सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रले मुख्यमन्त्री कार्यालयमा पठाएको ओएनएम खारेज गरिएको छ।
हालै कार्यालयको प्रमुख हेमराज खड्कासहितको दरबन्दी संरचना रहेको ओएनएम स्वीकृतका लागि पठाइएकोमा खारेज गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।
अहिले मन्त्रालयबाटै दरबन्दी कटौती र कार्यालय नै खारेजका लागि सिफारिस गरिएपछि ओएनएम रद्द गरिएको हो। दरबन्दीबाहेक कार्यालय संरचना भने यथावत रहेको बताइन्छ।
यसअघि पनि सो कार्यालय विवादमा आएको थियो। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रर्वद्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको पाइएको थियो। हाकिम खड्काले प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रको कार्यालय कञ्चनपुर र कैलालीको धनगढी गरि २ जिल्लामा राखेका थिए।
उनले त्यस्तै मनोमानी गरेको थाहा पाएपछि सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकालले खड्कासँग जवाफ माग गरेका थिए।