अछाम: अछामको बान्नीगढी गाउँपालिकामा गज्जवको रमिता देखिएको छ । गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले दोहोरो सुविधा लिएको तथ्य सार्वजनिक भएको छ ।
गाउँपालिकाबाट उनले सवारी साधनसंगै सवारी भाडासमेत लिने गरेको खुलेको हो।
गाउँपालिकाबाट खरिद गरिएको सरकारी स्कुटर,सरकारी तेल,स्कुटर मर्मत लगायतको सुविधामा मात्रै बार्षिक लाख बढी खर्च हुने गरेको स्रोतले बताएको छ।
स्थानीय जनप्रतिनिधिको सेवा सुविधासम्वन्धी सुदूरपश्चिम प्रदेश सरकारको कानुनअनुसार गाउँपालिका उपाध्यक्षले मासिक यातायात सुविधाबापत ९ हजार पाउने हो।
तर उनले कानुनलाई चुनौती दिँदै सवारी साधनसंगै यातायात सुविधा लिइरहेकी छन्।
उनलाई दोहोरो सुविधा बापतको रकम भुक्तानीम लेखा अधिकृत नारदप्रसाद खनालले सहयोग गर्दै आएको बताइएको छ।
राजनीतिक आस्था नमिलेका कर्मचारी र जनप्रतिनिधिले प्रकृया पूरा गरी पेश गरेका भुक्तानीका फाइलसमेत रोक्ने गरेका अधिकृत खनालले उपाध्यक्ष रावललाई दोहोरो सुविधा भुक्तानी गर्नुले आर्थिक लेनदेनमा उनीहरुवीच राम्रै घुलमिल रहेको बताइन्छ।
लेखामा भुक्तानीका लागि पेश भएका फाइलमा सामान्य व्यवहारिक त्रुटी हुँदासमेत भुक्तानी रोकेर बस्ने खनालले उपाध्यक्षलाई भने दोहोरो भुक्तानी दिँदै आएका छन्।
उपाध्यक्ष रावलले भने आफूले यातायात सुविधा ९ हजार बुझ्दै आएको र कहिलेकाहीं मात्र स्कुटर चलाउने गरेको बताएकी छन्।