धनगढी : इन्टेग्रिटी आइकन नेपाललाई प्रदेश स्तरीय बनाउनुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् । धनगढीमा मंगलबार एकाउण्टीबिलीटि ल्याब नेपालले गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । जवाफदेही सार्वजनिक संयन्त्र निर्माणका चुनौती र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।
एकाउण्टीबिलीटि ल्याब नेपालले हरेक वर्ष उत्कृष्ट ५ सरकारी कर्मचारीलाई इन्टेग्रिटी आइकन भनेर घोषणा गर्ने गर्दछ । त्यसै अनुरुप यस वर्ष पनि इन्टेग्रिटी आइकन नेपाल २०२३ सार्वजनिक गरिएको छ । अन्य कर्मचारीलाई पनि काम गर्ने हौसला मिलोस् भनेर उत्कृष्ट ५ जना कर्मचारीको भिडियो देखाइएको छ ।
स्वास्थ्य तालिम केन्द्र धनगढीका प्रमुख नरेन्द्र सिंह कार्कीले सबै आ आफ्नो क्षेत्रमा उत्कृष्ट भएको बताएका छन् । उनले विषम परिस्थितिमा पनि काम गर्नु एकदमै हिम्मतको कुरा भएको बताएका छन् । उनले “यसरी काम गर्ने हरेक क्षेत्र र प्रदेशमा छन् –उनले भने ‘यसलाई प्रदेश स्तरीय बनाउन सके अझैँ राम्रो हुन्छ ।,”
स्वास्थ्य तालिम केन्द्रका लेखा अधिकृत सरस्वती घिमिरे इन्टेग्रिटी आइकन नेपालले सम्मान गरेका उत्कृष्ट पाँच जनाको भिडियो हेर्न पाउँदा एकदमै खुसी लागेको बताइन् । उनले यसले आफूलाई अझै राम्रो काम गर्नुपर्छ भन्ने हौसला मिल्ने बताइन् । “यसको बारेको थाहा थियो तर, यसको प्रक्रिया थाहा थिएन आज थाहा भयो उनले भनिन् यो भिडियो हरेर भित्री मनदेखि नै अझैँ राम्रो काम गर्ने हौसला मनोबल बढेको छ ।,” उनले सबै जना आ आफ्नो क्षेत्रमा उत्कृष्ट रहेको बताउँदै यसको प्रचारप्रसार अझै गर्न सके सहज हुने बताइन् ।
धनगढी उपमहानगरपालिकाका सामुदायिक शाखा प्रमुख टंकबहादुर विष्टले यसलाई प्रदेश स्तरीय बनाउन सके अझैँ राम्रो हुने बताएका छन् । उनले एक प्रदेशबाट कम्तीमा एक जना पनि पर्न सके अरूलाई अझै काम गर्ने हौसला मिल्ने बताए । यस्तै सका बारेमा अझै प्रचार प्रसार गर्न सक्यौ भने अझै धेरैलाई जवाफदेही र निष्ठावान कर्मचारी बन्न प्रेरणा मिल्ने बताए ।
धनगढी उपमहानगरपालिका महिला विकास अधिकृत पंकजा जोशीले भिडीयोको बारेमा थाहा पाएको बताइन् । आफूूले गरिरहेको कामलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर यस भिडीयोले थप हौसला मिलेको बताइन् । यस्तै भावना सबैमा जाग्न सक्यो भने राष्ट्रप्रेम पनि जाग्ने उनले बताइन् ।
यो वर्ष विभिन्न पाँच विधाबाट प्रतिनिधित्व गर्दै नारायणी अस्पताल वीर गन्जका नर्सिङ निरीक्षक हेमा थापा, महिला तथा बाल बालिका विभागका निर्देशक निरा अधिकारी , शितोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङका बागवानी विकास अधिकृत पद्मनाथ आत्रेय, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत प्रतीक राई र मनमैजु माध्यमिक विद्यालय तारकेश्वर काठमाडौँका प्रधानाध्यापक रविना महर्जनलाई इन्टेग्रिटी आइकनको रूपमा सार्वजनिक गरिएको छ ।
यस वर्ष इन्टेग्रिटी आइकनका लागि देशभरिबाट ४ सय ६६ मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट निर्णायक समितिले यस वर्षका लागि पाँच जना इन्टेग्रिटी आइकन छनोट गरेको हो । नेपालबाट सुरु भएको यो कार्यक्रम अहिले विश्वका १६ देशमा फैलिएको छ ।
धनगढीमा आज भएको कार्यक्रममा सरकारी कर्मचारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण एकाउण्टीबिलीटि ल्याब नेपाल सुदूरपश्चिमका कार्यक्रम संयोजक गंगा भण्डारीले गरेका हुन् । उनले इन्टेग्रिटी आइकनमार्फत सार्वजनिक संयन्त्र भित्रका सदाचार प्रवर्द्धन गर्ने कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको बताइन् । कार्यक्रमको सञ्चालन तेज बोहराले गरेका हुन् ।