कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको थुनुवा कक्षभित्रै झै झगडा हुने गरेका घटना बाहिरिएका छन्। थुनुवाले नै अर्का थुनुवा कुट्दासमेत बाहिर भएका प्रहरी हेरेर बस्ने गरेको खबर बाहिरिएको हो।
यही पुस २१ गते लागुऔषध मुद्दामा पक्राउ परेका सन्जय थापामाथि अर्का थुनुवा हरिश भट्टले कुटपिट गरि घाइते बनाए। उनले थापाको दात नै हल्लिने गरि कुटेको, छाती र खुट्टामा पनि चोट लागेको उनका बुवा बताउँछन्। लागुऔषध मुद्दामा नै पक्राउ परेका हरिश भट्टले भित्रै त्यस्तो दादागिरी गर्दासमेत प्रहरीले केही नगरेको पीडितका बुवाको गुनासो छ।
उनले छोरा कुटिएको घटनाबारे बुझ्दा मुद्दा शाखाकी प्रहरी निरीक्षक(इन्सपेक्टर) बिनु शाहीले गोलमटोल जवाफ दिएको बुवाले बताए। शाहीले भित्र भएको कुटपिटबारे प्रहरीले थाहा नै नपाएको जवाफ दिइन्। ‘बाहिर हतियार बोकेका प्रहरी हुन्छन्। भित्र त्यत्रो झगडा भएको थाहा हुन्न र ? ‘ सन्जयका बुवाले प्रश्न गरे ।
उक्त घटना मात्रै होइन, पुस २३ गते अर्का थुनुवा दिपेन्द्र पाल पनि कुटिएका थिए। वैवाहिक बलात्कार मुद्दामा तीन सातादेखि प्रहरी हिरासतमा राखिएका पाल अहिले पनि घाइते छन्।
सोमबार मध्यान्ह झगडा भएपछि घाइते पालको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो। उनको ओठमा पाँच टाँकासम्म लगाइएको बताइन्छ। अस्पतालमा उपचारपछि उनलाई फेरि हिरासतमा राखिएको छ।
यस्ता लफडा भएर धमाधम थुनुवा घाइते हुँदा पनि प्रहरी भने मूकदर्शक भएर बसिरहने आरोप लागेको छ। तर, थुनुवा कक्ष सुरक्षार्थ खटिएका प्रहरी नभएको बेला झगडा भएको र लगत्तै प्रहरीले स्थिति नियन्त्रणमा लिएको प्रहरी दाबी गर्छ।
यी घटनामा राष्ट्रिय मानव अधिकार आयोगले पनि चासो देखाएको छ। राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रदेश कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई सत्यतथ्य जानकारी पठाउन निर्देशन दिएको बुझिएको छ।