डोटी : सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा करिब ४७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको जनाएको छ । डोटी र डडेल्धुरा जिल्ला अन्तर्गत रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा सञ्चालन हुने सबै योजनाहरूको ठेक्का प्रक्रिया भई काम तीव्र गतिमा सञ्चालन भइरहेको डिभिजन प्रमुख रमेश भट्टराईले बताए ।
डिभिजन प्रमुख भट्टराईका अनुसार डोटी र डडेल्धुरा जिल्लामा रहेका शाखा सडक अन्तरगत निर्वाचन क्षेत्र विकास कोष कार्यक्रम अन्तरगत रहेको डोटीको सानागाँउ गाजरी पोखरी सडक १७ करोड लागतमा ९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको बताए ।
त्यस्तै डडेल्धुराको भात्काडा बुडाल उच्चाकोट सडकको लागि तिन वटा छुट्टा छुट्टै ठेक्का अनुसार करिब २० करोड लागतमा ८ किलोमिटर कालोपत्रे गरिने, त्यस्तै डडेलधुराको जोबुडा सिर्स रुपाल सडक ७ करोड लागतमा ६ किलोमिटर निमार्ण भई १ किलोमिटर कालोपत्रे गरिने, त्यस्तै गैरा गांखेत सडक ७ करोड लागतमा ढाई किलोमिटर कालोपत्रे गरिने योजना रहेको डिभिजन प्रमुख भट्टराईले बताए ।
डडेल्धुरा जिल्लाकै सल्लाघारी उग्रतारा आयात सडक ७ करोड लागतमा ढाई किलोमिटर कालोपत्रे गरिने छ । भने त्यस्तै गरी उग्रतारा मेलौली ९ करोड लागतमा ढाई किलोमिटर र बगरकोट सिराड रुपाल १ करोड ५० लाखको लागतमा २ किलोमिटर कालोपत्रे गरिने योजना रहेको समेत डिभिजन प्रमुख भट्टराईले बताए ।
डिभिजन कार्यालय अन्तरगत डोटीको समुहगाड नापानी सडक र डडेलधुराको पोखरा बेलापुर सडक बिस्तार तथा सुधारको काम भइरहेको समेत जनाएको छ ।
सडक बोर्ड अन्तरगत चौखुट्टे देखी अनारखोली सम्म सडक मर्मत तथा पिचको काम समेत भइरहेको डिभिजन प्रमुख भट्टराईले बताए । उनका अनुसार राजमार्ग अन्तरगत रहेको मुख्य सडक १ सय ९० किलोमिटर क्षेत्रमा विभिन्न कामहरू भइरहेको जस अन्तरगत करिब १९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको समेत बताए ।
सडक निमार्णमा भौगोलिक विकटता, सडक निमार्णमा स्थानीयको आपसी विवाद, जमिनको विवाद, बन क्षेत्र पर्ने जस्ता केही चुनौतीहरू रहेको बताउँदै डिभिजन प्रमुख भट्टराईले विगतका वर्षहरूमा काम सुचारु भई पूर्णता नपाएका तर हाल चालु आ।व।मा बजेट विनियोजन हुन नसक्दा केही सडकहरूले पूर्णता नपाएको अधुरै रहेको समेत बताए ।
प्रदेश सरकार बाट आर्थिक वर्ष ०७८।०७९ मा बजेट विनियोजन गरी काम सुचारु भएका चालु आर्थिक वर्षमा बजेट विनियोजन हुन नसक्दा डिभिजन कार्यालय अन्तरगत रहेका ६ वटा शाखा सडकहरूको काम अधुरो रहेको छ । जस अन्तरगत सहजपुर जोरायल सडक १० किलोमिटर, सिर्स कालीढुंगे सडक १० किलोमिटर, गैरा गांखेत सडक १० किलोमिटर, अनारखोली थान्टा, चामागाउँ सुवाकोट सडक ढाई किलोमिटर र चामण्डा कोईराली सुगरखाल चुल्लेग सडक ढाई किलोमिटर रहेका डिभिजन प्रमुख भट्टराईले बताए ।
डोटी र डडेल्धुरा जिल्ला बाहेक सुदूरपश्चिम प्रदेशका अन्य जिल्लाहरूमा पनि प्रदेश सरकारले विगतका वर्षहरूमा बजेट विनियोजन गरी काम सुचारु गरेको सडकले पूर्णता नपाएका चालु आर्थिक वर्षमा बजेट विनियोजन हुन नसक्दा दर्जनौँ सडकहरू अधुरा रहेका पाइन्छन् ।