काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिसले रासिद खानको शतकको मद्दतमा बागमती प्रदेशलाई ६८ रनले हराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले रासिद खानको शतकको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनायो । उसको सुरुवात भने राम्रो थिएन । ७२ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाइसकेको थियो ।
तर आरिफ शेख र रासिद खानले छैटौं विकेटका लागि १२० रनको महत्वपूर्ण साझेदारी गरे ।
शेख ५७ रन बनाएर आउट भए । खान क्रिजमा टिकिरहे । कप्तान दीपेन्द्र सिंह ऐरीसँग ४३ र करण केसीसँग २५ रनको साझेदारी गरेका उनी १०६ रनमा अविजित रहे । ११२ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का हानेका थिए ।
बागमतीका रिजन दाहाल र सूर्य तामाङले समान ३–३ विकेट लिएका थिए ।
२८३ रनको लक्ष्य पछ्याएको बागमतीले ४३।३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्र बनाउन सक्यो ।
उसको सुरुवात भने राम्रो थियो । आशुतोष घिराइया र इशान पाण्डेले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरे । इशान ४४ रनमा आउट भए ।
त्यसपछि आशुतोष क्रिजमा टिकिरहे, तर उनलाई अरु ब्याट्सम्यानले साथ दिन नसक्दा निरन्तर विकेट गयो । सातौं विकेटका रुपमा आउट भएका आशुतोषले ९२ रन बनाए, जतिबेला टिमको स्कोर १७५ थियो । थप ३९ रन जोड्दा अलआउट भयो ।
सोनु देवकोटाले १९ रन बनाए भने विपिन आचार्यले १७ र गौतम केसीले १३ रन जोडे ।
पुलिसका सागर ढकालले ३ विकेट लिँदा करण केसी, रासिद खान र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।