विराटनर : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । मोटरसाइकलमा चढेर एक्लै गएका साम्पाङले कार्कीको कार्यकक्षमा आफैंले ताला लगाएका हुन ।
बीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै उनले प्रतिष्ठानमा गएर ताला लगाएका हुन् ।
प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन् । उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ । बीपी प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला अरूले खोल्ने आँट नगर्न साम्पाङले चेतावनी दिएका छन् । उनले आवश्यक परेका बेला म आफैं आएर खोल्ने बताए ।
मेयर साम्पाङले बीपी प्रतिष्ठानलाई धराशायी बनाउने कुनै पनि पदाधिकारीलाई नछाड्ने भन्दै तालाबन्दी गरेको कर्मचारीहरूले बताए ।
ताला लगाएपछि मेयर साम्पाङले कार्कीले राजीनामा नदिए घिसारेर निकाल्ने चेतावनीपूर्ण स्टाटस लेखेका छन ।
उनले लेखेका छन्, ‘बीपी अस्पतालको VC नलुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है !’
प्रतिष्ठानका उपकुलपति कार्कीले प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाको अधिकार खोस्ने पत्र सार्वजनिक भएसँगै मेयर साम्पाङले आफैंले ताला लगाएका हुन् ।
कार्कीले आन्तरिक, बाह्य पत्राचार र मुद्दा, मामिला सम्बन्धी कार्यहरूसमेत हेर्न नपाउने गरी अपमानजनक रूपमा रजिस्ट्रारमा निहीत अधिकार समेत खोसेको पत्र सार्वजनिक भएको छ ।
कामु उपकुलपति कार्कीले पुस २९ गतेको मितिमा रजिस्ट्रार सङ्ग्रौलालाई ‘अख्तियारी फिर्ता गरिएको’ पत्र लेखेका थिए ।