काठमाडौँ : सरकार सञ्चालन र राष्ट्रिय सभा सिट बाँडफाँटको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबिच खटपट भएको छ । आगामी फागुन २० गते रिक्त हुन लागेको एक तिहाइ सिटमा गठबन्धनभित्र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले मात्र भागबण्डा गरेपछि साना दलहरू असन्तुष्ट देखिएका हुन् ।
सिट बाँडफाँट गर्न पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा भाग नपाउने भएपछि सत्ता घटक साना दलहरू त्यहाँबाट बाहिरिएका थिए । बैठकबाट बाहिरिनेमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । सातै प्रदेशमा भोट प्रभावित गर्ने उनीहरूसँग मत नभएपनि एकरएक सिट दाबी गरेका थिए । तर नपाएपछि जनमत पार्टीले मधेस र लुम्बिनीमा अन्य क्लस्टरबाट छुट्टै उम्मेदवार उठाएको छ ।
माघ ११ गते हुने निर्वाचनमा जपाले मधेसमा रामशंकर महासेठ र लुम्बिनीमा बालगोविन्द चौधरी थारुलाई उठाएको छ । ती प्रदेशबाहेक अन्य प्रदेशमा गठबन्धनका उम्मेदवारलाई नै सघाउने निर्णय गरेको छ ।
पुस २९ गते बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत सहभागी भएन । उक्त बैठकले गठबन्धनबाट उम्मेदवारी दिएका १९ जनालाई विजयी गराउन अपिल गरेको थियो । अपिलमा जनमतबाहेकका दलको मात्र हस्ताक्षर रहेको छ ।
उसो त सरकार सञ्चालन र सिट बाँडफाँटलाई लिएर गठबन्धनका ठूला दल कांग्रेस र माओवादीप्रति एकीकृत समाजवादीभित्र पनि व्यापक असन्तुष्टि देखिएको छ । सोमबार काठमाडौँमा बसेको सचिवालय बैठकमा गठबन्धनको संस्कृति विपरित कांग्रेस र माओवादीले सरकार सञ्चालन र सिट बाँडफाँटमा एकलौटी गरेको भन्दै तीव्र असन्तुष्टि पोखिएको छ । यस्तै अवस्था कायमै रहे सरकारबाट बाहिरिनुपर्ने केही नेताहरूले धारणा राखेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता झलनाथ खनालले गठबन्धनमा बस्न निकै अप्ठ्यारो भएको बताए । ‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका छन् । स्थानीय तहको निर्वाचनदेखि नै हामीलाई पेलेका पेलै छन् । गठबन्धनमा कहिलेसम्म रहने भन्ने बारेमा सिंगो पार्टीमा कुरा उठेको छ । समीक्षा गरेर टुंगोमा पुग्न बाँकी छ । सरकार छाड्नेसम्बन्धमा निष्कर्षमा पुग्ने छौँ । गठबन्धनभित्र अटाउन हामीलाई अत्यन्त असहज भइसकेको छ’, खनालले भने ।
आफूहरूको मतबाट मोटाएका कांग्रेस–माओवादीले अहिले पार्टीमाथि नै प्रभुत्व जमाएको उनले आरोप लगाएका छन् । राष्ट्रिय सभामा एकीकृत समाजवादीले ३ सिट दाबी गरेपनि साबिक २ सिट पाएको थियो । यसअघि स्वतन्त्र जितेको सिट खोसिएको थियो ।