काठमाडौं : नेपाल पुलिस स्कुलमा रिक्त प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।
रौतहटको गरुडा र दाङको घोराहीमा रहेका दुई स्कुलका लागि प्रहरी प्रधान कार्यालय, प्राचार्य छनोट बोर्डले दरखास्त मागेको हो।
योग्यता पुगेका इच्छुकलाई आगामी माघ १७ गतेसम्म नक्सालस्थित बोर्डको सचिवालयमा आवश्यक कागजातसहित आवेदन पेश गर्न भनिएको छ।
बोर्डको सूचनामा उम्मेदवारको योग्यता कुनै विश्वविद्यालय वा अध्ययन संस्थानबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको, माध्यमिक तह वा सोसरहको पदमा कम्तीमा दश वर्ष प्राध्यापक गरेको वा माध्यमिक तहको विद्यालयमा प्राचार्यको रुपमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको वा विश्वविद्यालयमा उपप्राध्यापक पदमा कम्तीमा तीन वर्ष कार्यरत रहेको हुनुपर्ने उल्लेख छ।
त्यस्तै, फौजदारी कसुरमा सजाय नपाएको, दरखास्त दिँदाका बखत कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, स्कुलसँग कुनै किसिमको स्वार्थको द्धन्द्ध नभएको र दरखास्त दिने अन्तिम मितिमा ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्छ।