काठमाडौं : नेपालकै सबैभन्दा बढी धनी, कर छल्ने र राजनीतिक आडमा बचिरहने नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य समेत रहेका व्यापारी विनोद चौधरी सहितले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा गिद्धे नजर लगाएको पाइएको छ। निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहितको लगानी गर्ने भन्दै चौधरीले चलखेल गरिरहेको पाइएको हो ।
चौधरीसहित विमानस्थलबाट सुन तस्करी तथा अन्य अपराधमा समेत नाम जोडिएर विवादित बनेका व्यापारी दिपक मलहोत्राले पनि सो चलखेलमा साथ दिएको बुझिएको छ ।
स्रोतका अनुसार सोही क्रममा उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका खासमान्छे एसियाकै धनाढ्य गौतम अदानीको ‘अदानी ग्रुप’का प्रतिनिधिसँग डील गरेका छन्। सोही डीलकै लागि नेपाल बोलाएर भारतमा ठूला पूर्वाधारमा लगानी गर्दै आएको यो समूहका प्रतिनिधिसँग काठमाडौंमा मंगलबार चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी लगायतसँग छलफल गरेको खुलेको छ। सिमेन्ट कम्पनी, जलविद्युत् र अन्य भौतिक पूर्वाधारमा यो समूहले अहिले भने नेपालमा विमानस्थलमा लगानी गर्न चाहेको हो।
भारतको अदानी ग्रुपले र नेपालको सेटिङवाला चौधरी ग्रुपसँग निकटता बढाएको छ। आगामी वैशाख १६ र १७ मा लगानी सम्मेलन आयोजनाको तयारी गरेको सरकारले लगानी जुटाउन नसकिरहेका बेला अदानी ग्रुपका प्रतिनिधि आउनु र विमानस्थल निर्माणमा इच्छा देखाउनुलाई अर्थपूर्ण मानिएको छ।
लगानी सम्मेलनमा सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शोकेस गर्ने तयारी गरेको छ। त्यसअघि नै अदानी ग्रुपसँग वार्ता गराएर सम्मेलनमा समझदारी गर्ने गरी नेपाली समन्वयकर्ताहरुले तयारी गरेको बुझिन्छ।
उक्त विमानस्थल बनाउन सुरुमा १ खर्ब २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यो लगानीले सुरुमा एउटा रनवेसहितको विमानस्थल निर्माण हुनसक्ने अनुमान छ।
सरकारले चालू आर्थिक वर्षको बजेटमै निजगढ विमानस्थलको पूर्वतयारीको काम थाल्न बजेट विनियोजन गरेको छ। उड्डयन प्राधिकरणले विमानस्थलको चारकिल्लासहितका प्रक्रिया अघि बढाउने काम गरिरहेको छ।
यसअघि मन्त्रिपरिषद्ले पहिला विमानस्थल बनाउनेबारे गरेको निर्णय, ८ हजार ४५ हेक्टर जमिनमा चारकिल्ला तोक्न निकालेको सूचना, मन्त्रालयबाट स्वीकृत गरिएको वातावरणीय प्रभाव अध्ययन (ईआईए) तथा रुख कटान गर्ने निर्णय सर्वोच्च अदालतबाट खारेज भएकाले पुनः यी काम गर्नुपर्ने अवस्था छ।
ती सबै काम पुनः शून्यबाट सुरु हुने भएकाले प्राधिकरणले विज्ञले सिफारिस गरेकै आधारमा चार किल्ला तोक्नेछ। सरकारले चारकिल्ला निर्धारण गरेसँगै वातावरणीय प्रभावको अध्ययन हुनेछ।
२०७१ फागुनमा ८ हजार ४५ हेक्टर क्षेत्रलाई विमानस्थल भनी राजपत्रमा सूचना प्रकाशन गरिएको थियो। सर्वोच्चले आवश्यकभन्दा ४ गुणा बढी जग्गा छुट्याइएको उल्लेख गरेको छ। विमानस्थलको चारकिल्लामा २४ लाख ५० हजार ठूला रुख थिए।
पुरानो ईआईए प्रतिवेदन २०७५ जेठमा वन मन्त्रालयले स्वीकृत गरेको थियो। उक्त प्रतिवेदन हाइड्रोपावरको ईआईए नक्कल गरेको, जंगल फाँडेर विमानस्थल बनाउनुको औचित्य पुष्टि नभएको, एक रुख कटान बराबर २५ रुख लगाउने मापदण्ड संशोधन गरी १० बनाएको भन्दै अदालतले खारेज गरेको थियो।
यतिमात्र होइन, उक्त विमानस्थलबाहेक अदानी ग्रुपले माथिल्लो भेरी अर्थात् भेरी १ मा समेत लगानीको चाहना राखेको छ। उक्त आयोजनाको लाइसेन्स दीपक मल्होत्राकै आईएमएस ग्रुपसँग छ। सोही कारण पनि आयोजना अघि बढाउन अदानी ग्रुपसँग आईएमएस ग्रुपको छलफल भइरहेको जनाइएको छ।
अवैध कारोबार पनि
मल्होत्राको अहिले अवैध कारोबारमा पनि कनेक्सन देखिएको छ। उनले रूपेश श्रेष्ठ र विमल पोद्दारको समूहलाई प्रयोग गरेर दुई खर्ब ८५ अर्ब रुपैयाँबराबरको हुन्डी तथा क्रिप्टो कारोबार गरेको निष्कर्ष प्रहरीले निकालेको छ। सो गिरोहमाथि दुई महिना लामो अनुसन्धान गरेर प्रहरीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो।
प्रहरीले उनीहरूको समूहमा कम्तीमा १७ जनाको संलग्नता पुष्टि गरेको छ। जसमध्ये पाँच पक्राउ परेका छन् भने १२ जनालाई फरार प्रतिवादीका रूपमा मुद्दा चलाउन सिफारिस गरिएको छ। तर नाइके पोद्दार भने फरार छन्। पोद्दार ३८ क्विन्टल सुन तस्करीमा मुछिएका भारतीय व्यापारी हुन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रूपेशलाई पक्राउ गरेलगत्तै पोद्दार परिवारसहित विदेश भागेका थिए।
गत ६ मंसिरमा काठमाडौं बागबजारबाट पक्राउ परेका रूपेशमाथि अनुसन्धान गर्ने क्रममा पोद्दारसहित १७ जनाको संलग्नता पुष्टि भएको थियो। यो समूहको सञ्जाल अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई) र भारतमा पनि देखिएको छ। डिल्लीबजारमा एड्रेस लाउन्स नामक रेस्टुरेन्ट चलाउँदै आएका पोद्दारको सुन, हुन्डी तथा क्रिप्टोको समूहसँग सम्पर्क देखिएको बताइन्छ।