धनगढी : सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीमा आफ्नै छोराको हत्या गरेर फरार रहेका बुवा पक्राउ परेका छन्।
१८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बुवा ४५ वर्षीय नयाराम पक्राउ परेका हुन्।
उनलाई कैलालीको टिकापुर नगरपालिका–१ लम्किपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए।
उनले २ माघमा आफ्नै १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ। त्यसअघि उनले आफ्नै छोरीको बलात्कार गरेका थिए।
बहिनीलाई बलात्कार गरेको भन्दै दाइ भरतले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही कारण उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टिकापुर गएको थियो।
मोबाइल लोकेसनका आधारमा टिकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टिकापुर प्रहरीमा राखेको छ। उनी लम्कीपुरमा साडुदाईको घरमा बसिरहेका थिए। त्यहीँबाट उनी भारतर्फ जाने तयारी गरिरहेका थिए।
बिहान १० बजे लम्बीपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता खड्काले बताए ।