धनगढी : माओवादी निकट जनसांस्कृतिक महासंघका पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले सुदूर पश्चिममा माओवादी निकट कसैलाई पनि राजनीतिक नियुक्तिमा अवसर नदिएको आक्रोशमा महासंघ छाडेको बताएका छन् ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री सुदन किराँतीले नेपाल प्रज्ञा प्रतिष्ठान,संगीत तथा नाट्य प्रतिष्ठान,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान,साँस्कृतिक संस्थान र नेपाल ट्रष्टमा सुदूर पश्चिमका कसैलाई पनि अवसर नदिएको उनीहरुको आरोप छ । हिजो बुझाइएको सामूहिक राजीनामामा पार्टी अध्यक्षको नेतृत्वमा रहेको वर्तमान सरकारले त्यस्ता नियुक्तिमा सबै प्रदेशबाट प्रतिनिधित्व नगराएको उल्लेख छ ।
कुनै प्रदेशबाट धेरै जना र कुनैबाट शून्यको स्थितिमा भएको नियुक्तिलाई उनीहरुले एकात्मक सामन्ती व्यवस्थाको संज्ञा दिएका छन् । लेखिएको छ, ‘कमरेड प्रचण्डको नेतृत्व रहेको सरकारद्वारा विगतदेखि हालसम्म सरकार मातहतका विभिन्न निकायमा नियुक्ति प्रक्रिया हुँदै गर्दा देशका सबै प्रदेशबाट सहभागिता मात्रै होइन कुनै प्रदेशबाट दोहोरिनु, तेहरिनु तर हाम्रो प्रदेशबाट एक जना पनि नअटाउनु भनेको बलिदानको जगमा स्थापित भएको यत्रो परिवर्तनमा पनि पुरानै एकात्मक सामन्ती व्यवस्थाको जस्तैगरी संगठनको मूल,मान्यता आवश्यकता र औचित्यलाई लत्याउँदै स्वेच्छाचारी बलले गरिएका यी सबैखाले नियुक्ति प्रक्रिया सामान्य र स्वभाविक निर्णय नभई यो हुकुमे शैलीमा गरिएको व्यक्तिवादी, क्षेत्रीयवादी र सामन्तवादी चरित्रको पराकाष्ठा भएको ठहर गर्दै ।’
यसरी असहमति जनाउँदै राजीनामा दिनेहरुमा केन्द्रीय उपाध्यक्ष डम्बर रोकाया,विक्रम कुँवर, केन्द्रीय सचिव प्रवत जैमडी,केन्द्रीय सदस्यहरु सीबी चन्द,जनक रसिक, तिलक सिंह,प्रकाश धामी र विमला शाह छन् ।
सामूहिक राजीनामाबारे सोधिएको जिज्ञासामा उपाध्यक्ष रोकायाले भने, ‘महासंघमा रहेका आठ जना सुदूर पश्चिमका पदाधिकारी र सदस्यहरुले राजीनामा दिएका हौं । सरकार गठनलगत्तै भएका केही नियुक्तिलाई लिएर सरकारलाई जानकारी गराएका थियौं । तर,भोजपुर,रोल्पा,रुकुम,राई,मगर मात्रै भए पुग्छ भने झैं गरी दोस्रो पटकको नियुक्तिमा पहिलेको गल्ती सच्याउने वचन स्वयम् मन्त्री किरातीले दिँदासमेत लागू नभएपछि अप्रिय निर्णय लिनु परेको हो ।’
विक्रम कुँवरलाई सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्तिका निम्ति गरिएको सिफारिस र उपाध्यक्षलाई यसअघि प्रज्ञा प्रतिष्ठानमा गरिएको नियुक्ति सिफारिसलाई सरकारले लत्याएपछि सुदूरपश्चिमका सर्जकहरु जुर्मुराएको रोकायाले बताए । महासंघको सिफारिसलाई लत्याएर सरकारले गरेको सांस्कृतिक संस्थानको महाप्रबन्धक नियुक्तिलाई समेत फ्याँकेपछि आफूहरुले सामूहिक राजीनामा दिनुपर्ने अवस्था आएको उनको दावी छ ।