कैलाली– कैलालीका विभिन्न स्थानीय तहमा सत्तारुढ गठबन्धनमा भएको सहमति विपरीत गठबन्धनमा आवद्ध दलका तर्फबाट दिइएका उम्मेदवारी फिर्ता लिन अपिल गरिएको छ ।
गठबन्धनमा आबद्ध प्रमुख तीनले बुधबार संयुक्त रुपमा अपिल गरेका हुन् । नेपाली काँग्रेसका प्रदेश सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज दीर्घ सोडारीले बुधबार संयुक्त रुपमा अपिल जारी गरेका हुन् ।
वैशाख ११ गते गठबन्धनमा भएको सहमति अनुसार १३ वटा पालिकामा तालमेलका आधारमा उम्मेदवारी दिने सहमति भएको थियो । पालिकाका विभिन्न पदमा पार्टीको नामबाट र स्वतन्त्र रुपमा समेत गठबन्धनमा आवद्ध दलकै विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिले उम्मेदवारी दिएको भन्दै उनीहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको हो ।
कैलालीमा धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकामा गठबन्धनमा भएको सहमति अनुसार नै उम्मेदवारी परेको छ भने धनगढीको उपप्रमुखमा काँग्रेसबाट प्रभाकर भण्डारीले उपमेयरमा बागी उम्मेदवारी दिएका छन् । वडा तहमा भने प्रतिष्पर्धा गरेर जाने सहमति भएको भएको छ ।