धनगढी : मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालको घरमा माघ १० गते कालो ब्यानर टाँस्ने कार्यक्रम रहेको सार्वजनिक गरेको छ ।
आज धनगढीमा पार्टीले पत्रकार सम्मेलन गर्दै उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टीमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।
‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका बिषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे मागपत्र १५ दिने अल्टीमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरु सम्वन्धमा कुनै सुनुवाई नभएकोले समस्याहरुको समाधानका लागि केही भएनन्’ पार्टीका बाजुरा इन्चार्ज केशब उपाध्यायले भने ।
उनका अनुसार पहिलो चरणमा माघ १० गते वडा कार्यालयहरुमा, माघ १२ गते कार्यपालिका शाखाहरुमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरुमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ । माघ १० गते सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली, मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ ।