काठमाडौं : नेपाली कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोखरेलको निधन भएको छ।
१०२ वर्षीया पोखरेलको मंगलबार बिहान ४ बजे सामाखुसी, रानीबारीस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी गराएको छ।
उनी २००७ सालको क्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी थिइन्। कांग्रेसमा लागेर उनी तत्कालीन समयमा केन्द्रीय सदस्य समेत बनेकी थिइन्।
२०१८ सालको आन्दोलनताका उनलाई तत्कालीन पञ्चायत सरकारले गिरफ्तार गरेको थियो । उनलाई पोखरा हिरासतमा लगिएको थियो।
उनी गोवर्द्धन शर्मा स्मृति ट्रस्टको अध्यक्ष र संरक्षक समेत थिइन्। आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोखरेलले जानकारी दिए।
संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र र सुवास पोखरेल तथा छोरीहरू प्रियंवदा र सत्यवतीका आमा द्रौपदाको २००७ सालको क्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनाका निम्ति योगदान थियो।