काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतको अयोध्यामा राम मन्दिर उद्घाटन गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
‘जय श्रीराम’ भन्दै उनले सामाजिक सञ्जाल एक्समार्फत मन्दिरमा गरिएको श्रीरामको प्राण प्रतिष्ठा समारोह सनातन धर्म अनुयायीहरुका लागि गर्वको क्षण रहेको उल्लेख गरेका छन्।
त्यस्तै, परराष्ट्र मन्त्री एनपी साउदले पनि श्रीरामको प्राण प्रतिष्ठा समारोहले सम्पूर्ण सनातन हिन्दु धर्मावलम्बीहरुका लागि गर्वको कुरा रहेको उल्लेख गरेका छन्।
मर्यादा पुरुषोत्तम श्रीराम र नेपालकी छोरी सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक रहेको उल्लेख गर्दै मन्त्री साउदले दुई देश बिच यो सम्बन्ध गहिरो सांस्कृतिक र सभ्यताको प्रतीक रहेको बताएका छन्।
उनीहरूको सद्गुण र आदर्शले मानवताको सेवामा डोर्याएको उनले उल्लेख गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो भारत उत्तर प्रदेशको अयोध्यामा राम मन्दिरको उद्घाटन गर्दै श्रीराम प्राण प्रतिष्ठा समारोहको आयोजना गरेका थिए।