धनगढी : सशस्त्र प्रहरी बल, नेपालले २३ औं बार्षिकोत्सव सुदूरपश्चिममा धुमधामसंग मनाइएको छ । सशस्त्र प्रहरी बल, वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया र मातहतका गणहरुले सप्ताहाव्यापी रुपमा विभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएका हुन ।
स्वास्थ्य शिविर तथा रक्तदान
सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीको परिसरमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाईटी संगको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । साथै स्वास्थ्य शिविरमा एक सय ३४ जना विभिन्न प्रकारका बिरामीहरुले स्वास्थ्य उपचार सेवा लिएका थिए । यस्तै बाजुरा, कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लामा कार्यरत जम्मा ७४ जना सशस्त्र प्रहरीहरुले रक्तदान गरेका थिए ।
भूकम्पीय जोखिम सचेतना
बार्षिकोत्सवको अवसरमा वैद्यनाथ बाहिनीमा रहेको क्षेत्रीय विपद् व्यवस्थापन टोलीले भूकम्पीय जोखिम सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको गोदावरी १ स्थित होलील्याण्ड एकेडेमीका ७१ जना विद्यार्थी र शिक्षकहरुलाई भूकम्पीय जोखिमबारे सचेतना कार्यक्रम संचालन गरेको हो ।
यस्तै सुदूरपश्चिमका भूकम्पीय जोखिम रहेका जिल्लाहरु कञ्चनपुर, कैलाली, बैतडी, डोटी, दार्चुला, बाजुरा, अछाम, बझाङ्ग र डडेल्धुरा जिल्लामा भुकम्प, विपद् तथा प्रकोप, लैङ्गिक हिंसा तथा मानव अधिकार सम्बन्धि जनचेतनामुलक कक्षाहरु संचालन गरी ९ सय ४५ जनाहरुलाई अभिमुखीकरण प्रदान गरेका छन् ।
सरसफाई
सशस्त्र प्रहरी बार्षिकोत्सवको अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठ मन्दिर तथा सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कैलालीमो गोदावरी १ अत्तरियामा अवस्थित विभिन्न मठ मन्दिर, अत्तरिया बजार, अत्तरिया बसपार्क र महोत्सव एरीयामा सरसफाई गरेको छ । यस्तै अन्य जिल्लाहरुमा प्रमुख शक्तिपीठहरु सिद्धनाथ बाबा मन्दिर, नैनादेवि मन्दिर, निङ्गलासैनी भगवति मन्दिर, शैलेश्वरी मन्दिर, बासुधारा मन्दिर, मालिकार्जुन मन्दिर, बैद्यनाथ बाबा मन्दिर र उग्रतारा मन्दिर परिसरमा सरसफाई गरेको छ ।
तटबन्ध र चौतारो निर्माण
कञ्चनपुरको दोधाराचाँदनी १० कुतियाकभर स्थित जोगबुढा नदी र महाकाली नदीको दोभानमा तटबन्ध निमार्ण गरेको छ । नगरपालिकाको लागत खर्चमा स्थानीय बासिन्दा, गैर सरकारी संस्था र सशस्त्र प्रहरी बल, नेपालको जनशक्ति परिचालन गरी झण्डै ३०० मिटरको तटबन्ध निमार्ण गरिएको हो ।
यस्तै सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल र समुदाय विचको साझेदारी तथा टीकापुर नगरपालिका ७ वडा कार्यालयको आयोजनामा कालाकुण्डामा सार्वजनिक पिपल चौतारो निर्माण गरिएको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका ७ स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुलाई डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट न्यानो लुगा, ट्रयाकसुट, जुत्ता, मोजा, टोपिका साथै खाद्यान्न तथा फलफूल बितरण समेत गरेको छ ।
बैद्यनाथ वाहिनी मुख्यालय अन्तर्गत मुल्याङ्कन गरिएका जम्मा ५८ वटा युनिटहरु मध्ये उत्कृष्ट युनिट बनाउन सफल भएका सशस्त्र प्रहरी बलका, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुदन आचार्यलाई उत्कृष्ट यूनिट ट्रफी तथा प्रशसा पत्र प्रदान गरिएको थियो।
यस्तै सशस्त्र प्रहरी दिवस भव्यताका साथ मनाउने क्रममा वाहिनी स्तरमा बिभिन्न खेलकुद प्रतियोगिताहरु भलिबल, ब्याटमेन्टिन र टेबुलटेनिस प्रतियोगिताहरु समेत संचालन गरिएको थियो।