विराटनगर– प्रहरीले चित्तलको दुईवटा सिङसहितको टाउकाको छाला भारततर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीय धर्मबहादुर थापा छन् । प्रहरीले उनलाई नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ बाट गत आइतबार साँझ पक्राउ गरेको डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत प्रमेश्वर पासवानले जानकारी दिए। उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङमा बुझाएको हो ।
झोलामा राखेर जोगवनीतिर लग्दै गरेको अवस्थामा प्रहरीले थापाको साथबाट बरामद गरेको वस्तु चित्तल प्रजातिको मृगको सिङ र टाउकाको छाला रहेको पुष्टि भएको छ। वरिष्ठ पशु चिकित्सक सुशीलकुमार अधिकारी र पुरुषोत्तम पाण्डेको टोलीले उक्त वस्तु वन्यजन्तु चित्तलको अंग भएको पुष्टि गरेको हो।
पक्राउ परेका थापालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही अघि बढाउन अदालतबाट म्याद थप गरेर हिरासतमा राख्दै अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको पासवानले बताए ।