धनगढी : गत सोमबार (फेब्रुअरी २२) मा भारतको उत्तर प्रदेशको धार्मिक धाम अयोध्यामा नेपालका नेताहरु बोलाइए । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालदेखि काठमाडौं उपमहानगरपालिकाकी पूर्वउपमेयर हरिप्रभा खड्गीसम्मले निम्तो पाए । पूर्वआईजीपी अच्युतकृष्ण खरेलदेखि पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसम्मका गैरधार्मिक वृत्तमा निम्तो आएको थियो ।
विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउददेखि नेपालका पशुपतिनाथदेखि बराह क्षेत्रका धार्मिक अगुवासम्मले निम्तो पाउँदा थोरैमात्र गैरधार्मिक क्षेत्रकाले निम्तो पाए । निम्तो पाउनेहरुको सूचीमा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजु राण देउवा अटेनन् ।
भारतीय संस्थापनसँग नजिक हुने प्रयासमा देखिने कदम चालेका निधि र आरजुलाई निम्तो नआउनु संयोगमात्र नभएको जानकारहरु बताउँछन् । अयोध्या निमन्त्रणालाई नजिकबाट हेरेका एक जनाले भने, ‘विमलेन्द्र निधिदेखि आरजु राणा देउवासम्मले अयोध्यामा जान धेरै जोड गर्नुभएको थियो । तर, निम्तो आएन ।’
पछिल्लो समयमा शेरबहादुर देउवा क्याम्पसँग भारतीय संस्थापनको विश्वास कमजोर भएसँगै निमन्त्रणा नआएको जानकारहरुको आँकलन छ ।