काठमाडौंः माओवादी जनयुद्धका ब्रिगेड कमाण्डर जितमान पुन ‘मार्शल’ पक्राउ परेपछि डा. बाबुराम भट्टराईले आपत्ती जनाएका छन्।
पुनलाई लागूऔषधसम्बन्धी मुद्दामा प्रहरीले काठमाडौँबाट नियन्त्रण लिएको हो।
लागूऔषधसम्बन्धी मुद्दामा पुन समातिएको भनिए पनि पूर्वप्रधानमन्त्री तथा नेसपा अध्यक्ष भट्टराईले जनयुद्धकालीन मुद्दामा फ़साइएको आरोप लगाएका हुन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई यस सम्बन्धमा तुरून्त आवश्यक कदम चाल्न मागसमेत गरेका छन्।
‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छु,’ भट्टराईले भनेका छन्, ‘हामी यो घटनाको तीव्र भ्रत्सना गर्दछौं। यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसंग जोडदार माग गर्दछौं।
रुकुम पूर्वको भुमे गाउँपालिका–१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो। उक्त मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
पुन डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)मा आवद्ध छन्। ०७४ सालको निर्वाचनमा उनी तत्कालीन नयाँ शक्तिको तर्फबाट रुकुम पूर्वमा उम्मेदवार थिए।