डडेल्धुरा : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मेयर हेमराज ओझाले कार्यकर्ता भर्ती गर्न खोजेको आरोप लागेको छ।
नगरपालिकाले खोलेको हेल्थ असिस्टेन्ट पदमा मेयर ओझाले आफन्त र आसेपासेलाई सिधैं नियुक्ति दिन खोजेको आरोप लागेको हो।
नगरले माघ ८ गते हेल्थ असिस्टेन्ट पदको संक्षिप्त सूची सार्वजनिक गरेको थियो।
तर, नगरले प्रकाशन गरेको उक्त सूचीलाई लिएर कृष्णपुर नगरपालिका–२ कै वडाध्यक्ष अर्जुन साउदले आपत्ती जनाएका छन्।
उनले विधि प्रक्रिया मिचेर आवश्यक योग्यता पुगेका स्थानीय युवालाई साइड लगाएर आर्थिक गन्ध आउने गरि आफन्त र आसेपासेलाई सिधैं नियुक्ति दिन खोज्ने कार्य निन्दनीय भएको बताएका छन्।
प्रसंग स्वास्थ्य कर्मचारी भर्ती सम्बन्धमा भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै अध्यक्ष साउदले लेखेका छन्, ‘नगर प्रमुखको ठाडो आदेशमा प्रशासन सम्बन्धी सामान्य ज्ञान समेत नभएको हुन्छ बहादुर भन्ने भैंसी डाक्टरलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर, स्वास्थ्य शाखा प्रमुखलाई साधन बनाई कानुनको थोरै पनि डर नमानी विधि प्रक्रिया मिचेर आवश्यक योग्यता पुगेका स्थानीय युवाहरुलाई साइड लगाएर आर्थिक प्रलोभनमा आफन्त र आसेपासेहरुलाई सिधैं नियुक्ति दिन खोज्ने कार्य निन्दनीय छ।’
उनले सम्पूर्ण कृष्णपुरवासीले यस्ता भ्रष्ट मानसिकता भएका प्रमुख, प्रशासकीय अधिकृत र शाखा प्रमुखहरुको खुलेर बिरोध गर्नुपर्ने समय आएको समेत बताएका छन्।
तर, यता मेयर ओझाले ७/८ ओटा स्वास्थ्य कर्मचारी काजमा आएर काम गरिरहेको र ती कर्मचारी स्वास्थ्य मन्त्रालयले फिर्ता मागेपछि हेल्थ असिस्टेन्ट पदमा दरबन्दी आह्वान गरिएको बताए।
‘हाम्रो कृष्णपुरमा १२ ओटा युनिट छ। काजका स्वास्थ्य कर्मचारी फिर्ता मागेपछि हामीलाई स्वास्थ्य कर्मचारी आवश्यक भयो। कृष्णपुर स्वास्थ्यचौकीमा हामीले २४ घण्टा सेवा दिइरहेका छौं। २४ घण्टा सेवा दिने यो देशको एकमात्रै स्वास्थ्य चौकी हो,’ उनले भने, ‘कार्यपालिकामा व्यापक छलफल गरेरै यो कार्य अगाडि बढाएका हौं। कसैको मान्छे हुन्छन्, हुँदैनन्, कसको ‘इन्टेन्सन’ के छ भन्ने कुरा हो।’
उनले स्थानीय तहको सिनियर कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत सबै ठाउँमा भएको जिकिर गरे।
उनले भने, ‘हाम्रो प्रमुख प्रशासकीय अधिकृतको सरुवा भइसकेपछि संघीय मामिला मन्त्रालयले उहाँ (मानबहादुर केसी) लाई जिम्मेवारी दिएको हो। दुई महिनाको लागि। उहाँ भेटेरिनरीको सातौं तहको सिनियर कर्मचारी हुन्।’