धनगढी : नेपाली कांग्रेसको शक्तिसंघर्षका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको भविष्यबारे शंका उत्पन्न हुन थालेको छ ।
सुरुदेखि नै प्रचण्ड सरकारको विरुद्ध मा रहेको कांग्रेसको संस्थापनइतर समूहमा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने बालकृष्ण खाँण पनि मिसिएपछि यस्तो भएको हो।यसले स्वयं देउवालाई नै अफ्ठेरो पारेको पनि बताइन्छ । यस्तो अवस्थामा देउवाले प्रचण्डलाई समर्थन गरिरहने अवस्था नआउने एक कांग्रेस नेता बताउँछन् ।
खासगरी, भुटानी शरणार्थी प्रकरणमा केही समय जेल बसेर निस्किएपछि खाँण सरकार र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति सकारात्मक छैनन् । खाँणले सके सरकारै ढाल्ने र नसके पनि गृहमन्त्री फेर्ने लबिङ देउवासँग गरिरहेका छन् । तर, देउवाबाट ग्रिन सिग्नल नपाएपछि खाँण अहिले संस्थापनइतर समूहमा पुगेका छन् । जेलबाट छुटेपछि खाँणले आफूपक्षीय नेताहरूका साथै डा. शेखर कोइराला समूहका नेताहरूसँगको भेटलाई बाक्लो बनाएका छन् ।
यही परिस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा ८ माघमा बालकोट पुगेकी थिइन् । ओली र आरजुको यो भेटमा प्रचण्ड नेतृत्वको सरकारको विकल्पका बारेमा कुरा भएको स्रोत बताउँछ ।
एमाले स्रोतका अनुसार राष्ट्रियसभा चुनावपछि केही राजनीतिक दृश्य फेरिन सक्छ । ती नेताका अनुसार एमाले कांग्रेसको संस्थापनइतर समूहसँग मिल्न खोजेको भए पूरै कांग्रेस एमालेसँग मिलेर जान तयार रहेको सन्देश आरजुले दिएकी थिइन् ।
कांग्रेसमा संस्थापनइतर समूहमा खाँणसमेत मिसिए देउवाले ओलीसँग हात मिलाउने अवस्था बन्ने कांग्रेसका एक नेता बताउँछन् । त्यस्तो अवस्थामा प्रचण्डको सरकार ढल्ने अवस्था आउँछ । त्यसैको चाँजो मिलाउनका लागि आरजु बालकोट पुगेको ती नेताको भनाइ छ ।