धनगढी : हिजो (बिहीबार) राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएको छ।
राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन्।
महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन्। अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए।
तर, निर्वाचनमा सहभागी एक प्रदेश सांसद र एकजना पालिकाका जनप्रतिनिधिले भने मतदाननै गर्न जानेनन्।
एक प्रदेश सभा सदस्यले अपाङ्गतर्फको एक मत बदर गरेका हुन् भने अन्य र महिलामा एक/एक मत बदर भएको हो। सो मत चाहिँ पालिका प्रमुख तथा उपाध्यक्षको रहेको बताइन्छ।
प्रदेशसभातर्फ ५२ जना र स्थानीय तहका १७५ जना प्रमुख/उपप्रमुख मध्ये १७३ जनाले मतदान गरेका थिए।
प्रदेशसभातर्फ महिलातर्फकि उम्मेदवार चन्दले ४१ मत पाइन भने स्थानीय तहतर्फ १२० मत पाइन्। उनकी प्रतिद्वन्द्वी एमालेकी सावित्रादेवी घिमिरेले प्रदेशसभातर्फ ११ र स्थानीय तहतर्फ ५२ मत प्राप्त गरेकी छन्।
अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्टले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ १२१ मत पाए। उनका प्रतिद्वन्द्वी एमालेका रामचन्द्र जोशीले प्रदेशसभाको ११ मत र स्थानीय तहतर्फ ५२ मत पाए।
अन्यतर्फ विजयी भएका कांग्रेसका बोहराले प्रदेशसभातर्फ ३९ मत पाए भने स्थानीय तहतर्फ ११९ मत पाए। उनका प्रतिद्वन्द्वी एमालेका ईश्वरीप्रसाद खरेलले प्रदेशसभाको १३ मत र स्थानीय तहतर्फ ५३ मत पाए।
प्रदेशसभाको मतभार ५३ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १९ कायम गरिएको छ। योअनुसार महिलातर्फ विजयी भएकी माओवादीकी चन्दले प्रदेशसभातर्फ २१७३ र स्थानीय तहतर्फ २२८० गरेर ४४५३ कुल मतभार पाएकी छन्। एमालेकी घिमिरेले प्रदेशभाको ५८३ र स्थानीय तहतर्फ ९८८ गरेर १५७१ मतभार प्राप्त गरिन्।
अन्यतर्फका बोहराले प्रदेशसभातर्फ २०६७ र स्थानीय तहतर्फको २२६१ गरेर ४३२८ मतभार पाउँदा उनका प्रतिद्धन्द्धी एमालेका खरेलले प्रदेशसभातर्फ ६८९ र स्थानीय तहतर्फ १००७ गरेर १६९६ मतभार पाए।
आपांगतातर्फ कांग्रेसका भट्टले प्रदेशसभातर्फ २१२० र स्थानीय तहतर्फ २२९९ गरि ४४१९ मतभार ल्याउँदा एमालेका जोशीले प्रदेशसभातर्फ ५८३ र स्थानीय तहको ९८८ गरेर १५७१ मतभार प्राप्त गरे।
सुदूरपश्चिम प्रदेशसभामा अन्यतर्फ सत्तारुढ गठबन्धनबाट दुई मत क्रस भएर एमालेका उम्मेदवारलाई परेको पाइएको छ।