काठमाडौं : कोशीमा भएको फ्लोर क्रसको विषयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असन्तुष्टि जनाएका छन्।
उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनमा काँग्रेसबाट भएको घातलाई गम्भीर रूपले लिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
‘राष्ट्रियसभाको निर्वाचनमा मात्रै होइन, पटक पटकको निर्वाचनमा कांग्रेसबाट घात हुँदै आइरहेको छ। हामी इमान्दार हुने, तर कांग्रेसबाट घात भयो,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो।
प्रचण्डले असन्तुष्टि जनाएपछि देउवाले जवाफमा भने, ‘शेखरले हो शेखरले।’
देउवाको जवाफपछि प्रचण्डले शेखर होस् वा गगन जसले भएपनि कारबाही गर्न भनेका छन्।
हिजो भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनबाट फ्लोर क्रस भएर गठबन्धनतर्फ माओवादीकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले राप्रपा गठबन्धनको तर्फबाट एमालेकी रुक्मिणी कोइरालाले जित निकालेकी थिइन्।