काठमाडौं : आज(शुक्रबार) कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा लगायत प्रवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष मोहन बस्नेतले नगरपालिकामै पत्रकार सम्मेलन गरे। उनीहरुले वडा नम्बर २ का अध्यक्ष अर्जुन सावदले लगाएका सबै आरोप निराधार भएको भन्दै सम्मेलनमार्फत खण्डन गरेका थिए।
सावदले नगरपालिकाले खोलेको हेल्थ असिस्टेन्ट पदमा मेयर ओझाले आफन्त र आसेपासेलाई सिधैं नियुक्ति दिन खोजेको आरोप लगाएका थिए। उनले विधि प्रक्रिया मिचेर आवश्यक योग्यता पुगेका स्थानीय युवालाई साइड लगाएर आर्थिक गन्ध आउने गरि आफन्त र आसेपासेलाई सिधैं नियुक्ति दिन खोज्ने कार्य निन्दनीय भएको सामाजिक संजालमार्फत नै बताएका थिए। सोही आरोपमा आधारित भएर महेन्द्रनगरपोष्टले ‘कृष्णपुरमा ‘भैंसी डाक्टर’लाई निमित्त बनाएर कार्यकर्ता भर्ती गर्न खोजेको आरोप‘ शिर्षक राखेर हिजो(बिहिवार) समाचार सम्प्रेषण गरेको थियो।
यस्तै मंगलबार नगरपालिकाले काज र समायोजन भएर आएका आधा दर्जन बढी स्थायी कर्मचारीलाई फिर्ता पठाउने भनेर निर्णय गरेको विषयमा पनि महेन्द्रनगरपोष्टले समाचार सम्प्रेषण गरेको थियो। निर्णयपछि सो नगरबाट ९ जना कर्मचारीलाई फिर्ता मन्त्रालय पठाउने तयारी भइरहेको बुझिएको भन्दै ‘स्थायी कर्मचारी धपाउँदै कृष्णपुर, मन्त्रालयको पत्रकै ‘बेइज्जत’ ! राखेर समाचार सम्प्रेषण भएको थियो।
आज तिनै मुद्दाको खण्डन गर्न नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनमा विगतको पालिका सरकारले निर्माण गरेका कार्यविधि, ऐन र नियम अनुरुप नै कर्मचारीहरु भर्ना गरिएको र कुनै पनि किसिमले आफ्ना आफन्तहरुलाई भर्ना नगरिएको प्रवक्ता बस्नेतले बताए।
समाचारमा आए अनुसार कुनै पनि काम नभएको तथा सबै प्रक्रियामा टेकेर नै काम भएको उनले दाबी नै गरे। उनले अहेबर्फ १ सय ४ जनाको दरखास्त परेको बताउँदै छनौट प्रकृया बाँकी रहेको बताए। साथै दरबन्दीमा अन्यन्त्रबाट आएका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको काज फिर्ता गर्ने निर्णय अनुरुप नगरपालिबाट फिर्ता गराएको र रिक्त रहेका पदमा कर्मचारी भर्ना गर्न लागिएकोसमेत उनले सम्मेलनमा बताए।
पत्रकार सम्मेलनमा महेन्द्रनगरपोष्ट डट कम र वडाअध्यक्ष अर्जुन सावदविरुद्ध मेयर ओझा र प्रवक्ता बस्नेत खनिएका थिए। सम्मेलनको धेरैजसो समय उनीहरुले खेदो खन्नमै खर्चिएको स्रोत बताउँछ।
आफूविरुद्ध आएको समाचारको खण्डन गर्न दुवैले ३० जनाभन्दा बढी पत्रकार डाकेका थिए। सम्मेलनमा आएका पत्रकारलाई यातायात सुविधा भन्दै एक हजार भत्ता पनि दिइएको थियो। जसमा कर काटेर त्यहाँ सहभागी पत्रकारले करिब ९ सय रुपैयाँ जति बुझेको स्रोतले जानकारी दिएको छ।