धनगढी: सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) भित्र किचलो देखिएको छ। हिजो (शुक्रबार) माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाएर बहुमतको निर्णयले मानबहादुर धामीलाई दलको नेता बनाएसँगै पार्टीको किचलो छताछुल्ल भएको हो।
पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेताबाट हटाइएको निर्णयले पार्टीका नेताहरु पनि विभाजित भएका छन्। केही नेताहरुले बहुमतबट दलको नेता फेर्ने निर्णय पार्टी हितमा नरहेको भन्दै आलोचना गरेका छन् भने एकथरी नेताहरुले निर्णयको स्वागत गरेका छन्।
पार्टीका प्रदेश कमिटी सचिव जनक बुढाले नै सो निर्णयका कारण पार्टीका नेता तथा कार्यकर्तामा निराशा र आक्रोश पैदा भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पनि पार्टीको हितविपरीत निर्णय गरेर क्षणिक फाइदा भएपनी संगठनलाई दीर्घकालीन असर गर्ने दाबी गरे।
यस्तै वाइसियल नेपालका केन्द्रिय उपमहासचिव दिलबहादुर थापा (तुफान) ले पनि दल नेता फेर्नु पार्टीभित्रको समस्या समाधान नभएको भन्दै सो निर्णयको विरोध गरे। उता वाइसियलकै केन्द्रिय सचिव तथा पार्टीको धनगढी उपमहानगरपालिका कमिटीका अध्यक्ष डबल खाती (सुरज) ले सो निर्णयमा विधि अनुसार संसदीय दल र पार्टी नेताहरु चल्न नसकेको जिकिर गरेका छन्। त्यस्तै पार्टी प्रदेश कमिटी सदस्य करन साउदले भने सुदूरपश्चिममा पार्टीका एकथरी नेताहरुले जात्रा नै देखाएको आरोप लगाए। त्यस्तै वाइसियल केन्द्रीय सदस्य वसन्तसिंह कार्कीले पनि संसदीय दल नेता परिवर्तन गरिएको विषयलाई पार्टीभित्र गरिएको अपराध भएको दाबी गरेका छन्। सो अपराध क्षमा पनि हुन नसक्ने उनको भनाई छ।
उनीहरूमात्र होइन, अन्य नेता तथा कार्यकर्ताहरुले पनि दल नेता फेरिएकोमा विरोध जनाएका छन्। उता संसदीय दलका उपनेता अक्कल रावलले भने विधिअनुसार नै दल नेता परिवर्तन गरिएको जनाए।
शुक्रवार बसेको दलको बैठकले बहुमतबाट सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलको नेता परिवर्तन गरेको हो।
यसअघि दलको नेता रहेका खगराज भट्टलाई हटाएर माओवादीमा मानबहादुर धामीलाई दलको नेता बनाएको हो। सभामुखसहित ११ जना प्रदेशसभा सांसदमध्ये ६ जनाले खगराजलाई हटाएर धामीलाई दलको नेता बनाएका हुन्।